Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • निर्वाचन अघि नै ओलीले पराजय स्वीकार गरिसके : पुन

    निर्वाचन अघि नै ओलीले पराजय स्वीकार गरिसके : पुन

    नेपालमञ्च संवाददाता
    बैशाख २४ २०७९, शनिबार

    रोल्पा : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन अघि नै नेकपा एमालेले हार स्वीकार गरिसकेको बताएका छन् ।

    उनले पाँच दलीय गठबन्धनसँग पराजत हुने भएपछि ओलीले राजावादीसँग तालमेल गरेको दावी गरे । रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले परिवर्तनलाई रक्षा गर्ने कित्तामा आफूहरु उभिएको दाबी गरेका हुन्।

    ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरुसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ। आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन’, उनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं। संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ।’

    नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी गरे।

    ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाए। ‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ। बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं। ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न। हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन्’, उनले भने।

    ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए। ‘ओलीको संगत राजावादी र दक्षिणपन्थीहरुसँग छ। प्रतिगामीहरुसँग छ। ओली निरंकुश र प्रतिगामी हो भन्ने तथ्यहरुले पुष्टि गरेको छ। यो उहाँका व्यवहार र संगतहरुले पुष्टि गरेको छ’, पुनले भने।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend