Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • एमालेले छान्यो पाँच महानगर र नौ उपमहानगरमा मेयर र उपमेयरको उम्मेदवार (सूचीसहित)

    एमालेले छान्यो पाँच महानगर र नौ उपमहानगरमा मेयर र उपमेयरको उम्मेदवार (सूचीसहित)

    नेपालमञ्च संवाददाता
    बैशाख १० २०७९, शनिबार
    1.8K
    SHARES

    काठमाडौं : नेकपा एमालेले पाँच महानगरपालिका र नौ उपमहानगरमा मेयर र उपमेयरको टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले विराटनगर महानगरपालिकाबाहेक अरु पाँच महानगरको मेयर र उपमेयर चयन गरेको हो ।

    एमालेले काठमाडौं महानगरको मेयरमा केवश स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ । त्यस्तै ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनाएको हो ।

    पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङ उम्मेदवार बनेका छन् भने भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । भरतपुर नगर कमिटीले यसअघि नै सुवेदीको नाम मात्र मेयर पदमा सिफारिस गरेको थियो । एमालेले भरतपुरमा राप्रपासँग तालमेल गर्न खोजेको छ । चुनावी तालमेल भए उपमेयर राप्रपालाई दिने एमालेको योजना छ ।

    मधेश प्रदेशको एक मात्रै महानगर वीरगञ्जमा एमालेले विजय सारबगीलाई उम्मेदवार बनाएको छ । वीरगञ्जमा मेयर निर्वाचित उनी एक महिनाअघि मात्रै एमाले प्रवेश गरेका हुन् । तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर जितेका उनलाई एमालेले मेयरमै दोहो र्‍याउने शर्तमा पार्टी प्रवेश गरेका हुन् । वीरगञ्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी तालमेलको सहमति भएको छ । उपमेयर समाजवादीले पाउनेछ ।

    दाङको तुलसीपुर उपमहानगरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई टिकट दिएको छ भने दाङकै घोराही उपमहानगरमा मेयरमा नरुलाल चौधरीलाई नै दोहोर्याएको छ भने उपप्रमुखमा हिमाकुमारी डिसीलाई टिकट दिने निर्णय गरेको छ । चौधरी घोराहीका मेयर हुन् । उनी पछिल्लो स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका हुन् ।

    एमालेले धनगढी उपमहानगरमा रणबहादुर चन्दलाई मेयर र उपमेयरमा कन्दकला राना थारुर्लाई उम्मेदवार बनाएको छ । नेपालगञ्जमा पशुपतिदयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उमपेयरको उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

    त्यस्तै एमालेले बुटवल उपमहानगरको मेयरमा बाबुराम खड्का र उपमेयरमा साबित्रादेवी अर्याललाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा एमालेले मेयर पदमा अनन्त पौडेललाई उम्मेदवार बनाएको छ भने उपमेयरको टिकट सुमित्रा काफ्लेलाई दिएको छ ।

    त्यस्तै एमालेले बाराको कलैया उपमहानगरको मेयरमा विनोद साहलाई उम्मेदवार बनाएको छ । एमालेले जनकपुरधाम र जितपुर सिमराको उम्मेदवार चयन गरेको छैन । जनकपुरधामको मेयर पद लोसपालाई दिने एमालेका एक नेताले बताए । एमालेले मधेश प्रदेशमा लोसपासँग चुनावी तालमेल गर्न खोजेको छ । वीरगञ्ज महानगरको मेयरमा लोसपाले एमालेलाई समर्थन गरेको छ।

    धरान उपमहानगरको एमालेले मेयर पदमा मञ्जु भण्डारीलाई उम्मेदवार बनाएको छ । उपमेयरमा पदम लिम्बुले टिकट पाएका छन् । सुनसरकी अर्काे उपमहानगर इटहरीमा यामकुमार सुब्बाले टिकट पाएका छन् । इटहरीका निर्वाचित मेयर द्वारिकालाल चौधरीलाई एमालेले दोहोर्याएन । उपमेयरमा संगिता चौधरीलाई एमालेले अघि सारेको छ ।

    निर्वाचन आयोगले उम्मेदवार मनोनयन दर्ताका लागि बैशाख ११ र १२ गतेको समय तोकेको छ । स्थानीय तह निर्वाचन बैशाख ३० गते हुँदैछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend