Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • कम्युनिष्टसङ्ग नै गठबन्धन गर्नुपर्ने कांग्रेसको बाध्यता

    कम्युनिष्टसङ्ग नै गठबन्धन गर्नुपर्ने कांग्रेसको बाध्यता

    मनिष जंग थापा
    बैशाख ८ २०७९, बिहिबार

    विभिन्न घटना क्रमसङ्गै अहिले नेपालको राजनीतिमा मेलमिलापको नीतिको थप आवश्यकता र औचित्यता बढेको छ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादतर्फको यात्राविरुद्ध सुरु भएको गठबन्धन यतिबेला चुनावी तालमेलसम्म पुगेको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी, नकेपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीचको यो गठबन्धनको औचित्य एउटै छ, मुलुकको संविधान जोगाउने र अधिनायकवादबाट देशलाई मुक्त गर्दै समृद्धिको बाटोमा सहकार्य गर्ने ।

    राजनैतिक आस्था र विश्वास फरक फरक देखिएका यी दलहरुको एकतालाई लिएर बेलाबेलामा कतिपयले टिकाटिप्पणी पनि नगर्ने होइनन् तर मुलुकमा लोकतन्त्रको रक्षा गर्ने मुद्धामा जेजति दलहरु एक ठाउँमा उभिए, आज ति दलहरुबीचको सहकार्य हो यो । लोकतन्त्रभन्दा अर्काे उद्धेश्य केहि हुनसक्दैन । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको छातामुनि अन्य दलहरु अटाउनु र लोकतन्त्रप्रति प्रतिवद्ध भएर अगाडि बढ्न खोज्नु कांग्रेसको सफलता हो । यो हामी कांग्रेसीका लागि पनि गौरवको विषय हो ।

    नाममा कम्यूनिष्ट भएपनि, पार्टीका विधान र विचारमा सर्वहारा लेखिएपनि सबैले लोकतन्त्रप्रति देखिएको चिन्ता र चासोलाई हामीले सम्मान गर्नुपर्छ । कम्यूनिष्टको लोकतान्त्रिकरण कांग्रेसको विजय हो । यतिबेला मुलुक स्थानीय तहको संघारमा पुगेको छ । प्रतिगमनविरुद्ध सुरु भएको गठबन्धन सरकार निर्माण हुँदै निर्वाचनसम्म पुगेको छ। जसको चर्चा देशव्यापी छ ।

    पाँच दलीय सत्ता गठबन्धनलाई बाँकी प्रदेश र संघीय निर्वाचनसम्मै लैजाने दलहरुको तयारी छ । गुणस्तरीय शिक्षा, गुणस्तरीय र सर्वसुलभ उपचार लगायतका उद्देश्यसहित अगाडि बढेको गठबन्धनको चर्चा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै छ । नेपालमा बहुदलीय राजनीतिक आन्दोलन र काग्रेस–कम्युनिस्टको सम्बन्ध एक प्रकारले रक्षात्मक अवस्थामा रहेको बेला नेपालमा कम्युनिष्ट भित्रका लोकतान्त्रिक, अग्रगामी पार्टी र नेपाली कांग्रेसको एकताले देशमा नयाँ उमङ्ग ल्याएको छ । साथै विभिन्न प्रश्नहरू पनि उब्जिएका छन् ।

    गठबन्धन किन – केका लागि ? भन्ने प्रश्न नै मूल प्रश्न र महत्त्वपूर्ण प्रश्न हो । त्यसकारण कुनै पनि घटनाक्रमका पछाडि कारण अनिवार्य रहेको हुन्छ । कारण बिनाको कार्य हुनैसक्दैन । यस आवश्यकतालाई हामीले बुझ्न जरुरी छ ।

    नेपालमा प्रजातन्त्र स्थापनादेखि नै दृश्य–अदृश्य रूपमा सँगसङ्गै लडेको हामीले बिर्सनुहुन्न । आज पार्टीभित्रकै केही साथीहरुले बुझी–नबुझी, केहि साथीहरूले विभिन्न स्वार्थका लागि गठबन्धनको विरोध गरेको देख्दा सोच्न बाध्य बनाउँछ । हामीले भुल्नुहुन्न ती पलहरु,, जब हाम्रा आदर्श बिपी कोइरालालाई निरंकुश महेन्द्रले सत्ता च्युत गरी जेलमा राख्दा कम्युनिस्टहरुले राजाको खुलेर विरोध गरेको । हामीले यो पनि भुल्नुहुन्न कि हामी सँगसङ्गै निरंकुश पञ्चायती व्यवस्था विरुद्धमा उत्रेको । २०३६ साल र २०४६ सालमा माओवादी पार्टी थिएन तर यिनै प्रचण्ड, माधव, उपेन्द्र र चित्र बहादुर केसीहरु कालो पट्टी बाँधेर शेर बहादुर देउवाकै पछि–पछि हुनुहुन्थ्यो ।

    लक्ष्य एउटै–बाटो फरक

    माओवादीको तत्कालीन सशस्त्रयुद्धको बाटो र कांग्रेसको संसदीय प्रतिस्पर्धाको बाटो हिँडेर २०६२–६३ को ऐतिहासिक जनआन्दोलनले गिरिजाबाबुको नेतृत्वमा र माधव–प्रचण्डको अग्रमोर्चामा नेपालमा राजतन्त्रको अन्त्य र गतन्त्रको स्थापना भएको यथार्थ विर्षनुहुन्न । त्यो सहकार्य र कार्यगत एकतालाई नजरअन्दान गरेर आजका दिनमा गठबन्धनको विरोध गर्नु इमान्दार कांग्रेसी नेता कार्यकर्ताको आत्माले दिँदैन ।

    कांग्रेसको नेतृत्वमा देश संविधानसभाको निर्वाचनमा होमियो । मुलुक शान्तिपूर्ण अवस्थामा आयो । कांग्रेसले नै देशलाई ऐतिहासिक संविधान दियो । यी सबै काममा कांग्रेस एक्लै थिएन, कांग्रेससँगसँगै यिनै दल थिए, जो आज गठबन्धनमा छन् । त्यसैले लामो समयदेखि सुरु भएको गठबन्धनको संस्कृतिकै परिणाम आज कांग्रेसको नेतृत्वमा सरकार छ । गठबन्धनको आगामी उद्देश्य राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा हो । यसका लागि गठबन्धन अनिबार्य शर्त हो ।

    ५ दलीय गठबन्धन देश र जनताको आवश्यकता हो । देश र जनताको आवश्यकता भन्दा ठूलो कुनै कुरा हुन सक्दैन । हामीले गठबन्धन गर्दा केहि गुमाएको अनुभूति गर्न सक्छौं तर हामीले मात्रै होइन,अरु दलले पनि गुमाएका हुन्छन् । अनि हामीले कुनै न कुनै उपलब्धी पनि प्राप्त गरेका हुन्छौं । गठबन्धन भनेकै लेनदेन हो । गठबन्धनको संस्कृतिलाई स्वीकार गर्नैपर्छ । यसलाई आत्मसात गर्नैपर्छ । गठबन्धन आफैमा पवित्र शब्द हो । सामूहिकतामा विश्वास गर्ने कुरालाई विरोध गर्नु कसरी राजनीतिक तर्क हुन सक्छ ? राजनीति आदर्श र भावनाबाट होइन, बस्तुपरक रुपमा हेर्न र बुझ्न जरुरी छ ।

    एउटै पार्टीमा रहेर भएपनि ओलीको अधिनायकवादविरुद्ध उभिएका प्रचण्ड र माधव नेपालहरु लोकतन्त्रका पक्षमा कांग्रेससँग आइपुगेको यथार्थ हो । एमालेको प्रतिगमनलाई परास्त गर्दै लोकतन्त्र जोगाउन पार्टी विभाजन गरेका प्रचण्ड र माधव नेपाललाई सँगसँगै साथमा राख्नु कांग्रेसको जिम्मेवारी हो । र यो महत्वपूर्ण कर्तव्य पनि हो ।

    राणाविरोधी आन्दोलनको रूपमा सुरु भएको सामन्तवाद विरुद्धको आन्दोलन ७ दशक पश्चात् सफल भएको थियो । २००७ सालको आन्दोलन , झापा विद्रोह , २०३४ को सङ्घर्ष , २०३६ को जनमतसंग्रह , २०४६ सालको जनआन्दोलन, २०५२ देखि २०६२ सालसम्म सञ्चालित सशस्त्र संघर्ष, २०६२/६३ को जनआन्दोलन , मधेस आन्दोलनहरुको ताकत र बलिदानले नेपालमा राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सम्म पुग्दा राजननीतिक सहकार्य अनिवार्य रहेको थियो । राजनीतिक गठबन्धन थियो त्यो । गठबन्धनबिना त्यो परिवर्तन सम्भव थिएन ।

    जनताले प्राप्त गरेका राजनैतिक अधिकारहरूको प्रयोग गर्दै देशलाई आर्थिक समृद्धिमा लैजानु, जनताका गाँस , बाँस , कपास, स्वास्थ्य, शिक्षा र रोजगार लगायतका आवश्यकताहरू पूरा गर्नु गठबन्धनको प्रमुख कार्यभार हो । यसका लागि राजनैतिक अस्थिरता अन्त्य गर्दै स्थिर राजनीतिको जगमा ५ दलीय गठबन्धनमार्फत् देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ ।

    कम्युनिष्टसङ्गै नै गठबन्धन गर्नु पर्ने वाध्यता

    नेपालमा प्राप्त राजनैतिक उपलब्धीहरुको मूल श्रोत कांग्रेस पछि माओबादीलगायत अहिले गठबन्धनमा आएका कम्युनिस्टहरु नै हुन् । सहिदहरुको बलिदानले ल्याएको व्यवस्था टिकाउन सक्नु र विकास गरेर अगाडि बढ्न अहिले परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समयको माग हो ।

    व्यबस्था फेरिए पनि अधिनायकवादी ओलीका कारण नेपालको राजनीतिमा कांग्रेस–कम्युनिस्ट गठबन्धन आवश्यक भएको हो । एकचोटी केपी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई अत्याधिक बहुमत दिँदा पनि राज्य सञ्चालन गर्न नसक्नु, संविधानलाई असफल बनाउन खोज्नु, संसद भङ्ग गर्ने जस्ता अधिनायकवादी चरित्रले ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने आवश्यकता आयो ।

    एउटै पार्टीमा रहेर भएपनि ओलीको अधिनायकवादविरुद्ध उभिएका प्रचण्ड र माधव नेपालहरु लोकतन्त्रका पक्षमा कांग्रेससँग आइपुगेको यथार्थ हो । एमालेको प्रतिगमनलाई परास्त गर्दै लोकतन्त्र जोगाउन पार्टी विभाजन गरेका प्रचण्ड र माधव नेपाललाई सँगसँगै साथमा राख्नु कांग्रेसको जिम्मेवारी हो । र यो महत्वपूर्ण कर्तव्य पनि हो ।

    लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा राखेर अधिनायकवादलाई परास्त गर्नुलाई हामीले कदापी गलत भन्नुहुन्न । त्यसकारण नाममा कम्यूनिष्ट भएपनि लोकतन्त्रप्रतिको प्रचण्ड र नेपालको प्रतिवद्धताकै उपज यो गठबन्धनको जग बनेको हो । त्यसैले संविधान र देशको रक्षार्थ गठबन्धनको समर्थन गरौं ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend