Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • पोखरा महानगरमा आन्तरिक मतदानबाट उम्मेदवार छान्दै एमाले, चुनावअघि बने दुई प्यानल

    पोखरा महानगरमा आन्तरिक मतदानबाट उम्मेदवार छान्दै एमाले, चुनावअघि बने दुई प्यानल

    नेपालमञ्च संवाददाता
    बैशाख २ २०७९, शुक्रबार
    2.3K
    SHARES

    पोखरा : नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदानको तयारी गरिएको हो ।

    मनोनयन समेत शुक्रबार नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ ।

    एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो ।

    निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिएपनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

    मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।

    उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।

    आकांक्षीहरुले पुनः मनोनयन गर्नुपर्ने भएपछि पहिले नाम टिपाएका भन्दा बाहिरकाले समेत मनोनयन दर्ता गर्न पाउने छन् । एमालेको आन्तरिक बैठकमा बहालवाला सांसदलाई मेयर उपमेयरमा छेक्ने प्रयास भएको छ ।

    बैठकका सहभागीहरुले कडा रुपमा उनीहरुको विरोध गरेको एक नेताले बताए । ‘बहालवाला सांसदको कार्यकाल अझै आधा वर्ष बाँकी छ । उही मान्छेलाई तानेर मेयर बनाउने कुरा राम्रो हुन सक्दैन,’ ति नेताले भने, ‘सांसदलाई मेयर उपमेयरको टिकट दिन हुँदैन । सबैको आवाज त्यसैमा केन्द्रित भएको छ ।’

    २०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिश्पर्धाबाटै मेयर र उपमेयरको नाम टुंग्याईएको थियो । मानबहादुर जिसीले सबैभन्दा बढी मत ल्याएर मेयरको टिकट पाएका हुन् भने उपमेयरमा प्रभा कोइरालाले धेरै भोट ल्याएपनि भेग र जातीय हिसाव मिलाउनुपर्ने भएकोले दोश्रो नम्बरमा सिफारिस भएकी गुरुङले टिकट पाएकी हुन् । अहिले पनि मतदातबाट मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम सिफारिस हुनेछ ।

    दुबै पदमा एक महिला र दुई पुरुषको नाम सिफारिस गरिने महानगर कमिटीले जनाएको छ । मेयर र उपमेयरको आन्तरिक चुनावमा १ सय १० जनाले मतदान गर्ने छन् ।

    एमाले नेता खगराज अधिकारी र गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले आफूनिकटलाई उम्मेदवार बनाउन चाहेका छन् । तर दुई नेताबीच सहमति नजुटेपछि चुनावबाटै उम्मेदवार टुंगो लगाउने तयारी भएको हो।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend