काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालको निजामती प्रशासनलाई सक्षम र प्रभावकारी मोडलको रुपमा विश्वमा परिचित गराउनुपर्ने आवश्यता रहेको बताएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्षमा अन्तर्क्रियामा पोखरेलले पुरानो सोच र कार्यशैलीलाई परिवर्तन गर्दै नेपालको निजामती प्रशासनलाई विश्वसामू परिचित गराउनुपर्ने बताएका हुन्।
निजामती प्रशासनलाई बिरासतमा पाएको ठान्ने र परिणामलाई भन्दा प्रक्रियालाई जोड दिने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाई छ ।
सरकारको १० बर्षे रणनीति योजनाले कर्मचारीतन्त्र निकै संवेदनशिल र नागरिकप्रति गम्भीर भएर लाग्नुपर्ने अवस्था आउने उनले बताए।
उनले कर्मचारीतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै कर्मचारीतन्त्रमाथि उठ्ने गरेको प्रश्नको अन्त्य हुनुपर्ने धारणा राखे।
कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको क्षमता बिकासमा कुनै कमि कमजोरी हुन नदिने भन्दै कर्मचारी प्रतिष्पर्धामा उत्रनुपर्ने बताए।
उनले निजामती सेवालाई सबल र सक्षम बनाउन गर्दै निजामती सेवाप्रति देखिएको गुनासो अन्त्य गर्नुपर्ने जिकिर गरे।