काठमाडौं : शहरी विकास मन्त्री प्रभु साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचडमाथि खनिएका छन् ।
माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेपछि सांसद पदबाट हटाउने प्रचण्डको निर्णयलाई प्रतिगामी कदमको संज्ञा दिए ।
माओवादी केन्द्रले मंगलबार प्रभु साहसहित सांसदहरु लेखराज भट्ट, गौरीशंकर चौधरी र टोपबहादुर रायमाझी सांसद नरहेको पत्र संसद सचिवालयलाई बुझाएको थियो । चारै जना सरकारका मन्त्री हुन् ।
‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता, सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिई राख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’
उनले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि उदांगो भएको टिप्पणी गरेका छन् ।
‘अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक, कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’ उनले भनेका छन् ।