काठमाडौं : पछिल्ला केही दिन देखि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। नेपालमा दैनिक संक्रमितको संख्या बढ्दै गएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा २६० कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् ।
२४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।
सोमबार २६६ जना संक्रमित थपिएका थिए । आइतबार १७६ जनामा कोरोना पुष्टि भएको थियो भने शनिबार जम्मा १२८ संक्रमित थपिएका थिए । शुक्रबार १११ संक्रमित भेटिएका थिए ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि सरकार भने नआत्तिक आग्रह गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण बढ्न सक्ने भन्दै आमनागरिकलाई नआत्तिन अपील गरे ।
मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढेपनि आतंकित नहुन अपील गरे । उनले कोरोनाबाट जोगिन थप सावधानी र सतर्कताको खाँचो औल्याए ।
‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो,’ उनले भने, सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’