सुर्खेत । नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । प्रदेश सरकारमा एमालेका तीन मन्त्री सहभागि थिए ।
पार्टीको संसदीय दलको निर्णय अनुसार एमाले मन्त्रीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।
एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी थिए ।
तीनै जना नेता माधव नेपाल समूहका हुन् । कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमाले अध्यक्ष केपी शर्मा ओली निकट संसदीय दलले निर्णय गरेको थियो ।
सुरुमा निर्णयप्रति असहमति जनाएको नेपाल समूह केही दिनअघिको बैठक एमाले संसदीय दलको बैठकमा सहभागि भएको थियो ।
सरकारलाई समर्थन फिर्ता लिने यसअघिको निर्णयमा नेपाल समूह पनि सहमत भएपछि माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ ।
नेकपा खारेज भएसँगै एमाले तथा माओवादी केन्द्र ब्युतिएपछि कर्णालीको प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको हो ।
एमालेले समर्थन फिर्ता लिएपछि १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।
४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ ।
२० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो ।