काठमाडौँ । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भाँचिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरकाअनुसार पुलको ८० मिटर भाग भत्किएको हो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।
इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भत्किएको हो ।
पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो ।
सो ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको अनुमान गरिएको छ ।
सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको छ ।
डिजाइन संशोधनमा १८ महिना, भूकम्पमा ६ महिना र नाकाबन्दीमा ३ महिना काम रोकिएको थियो ।
दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पुस १३ गते सकिएको थियो । कोरोना भाइरसको संक्रमणलाई देखाउँदै फेरि म्याद थप गरिएको थियो ।
२०७४ कात्तिकमा बनिसक्नुपर्ने पुल अहिले निर्माणाधिन अवस्थामा भत्किएको हो ।
भरतपुर महानगरपालिका वडा नं १ ठिमुरादेखि देवघाट गाउँपालिका वडा नं। ५ को घिनटार जोड्न त्रिशुली नदीमाथि बन्दै गरेको पुलको ६ वर्षअघि शिलान्यास गरिएको थियो ।