काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको खिचातानी प्रदेश सरकारमा पनि देखिएको छ । माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकारमा एमालेले समर्थन फिर्ता लिँदै आफ्नो पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने निर्णय गरेसँगै शाहीको सरकार ढल्न लागेको हो ।
त्यस्तै एमाले संसदीय दलको बैठकले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ । तीन मन्त्रीले आज राजीनामा दिनेछन् ।
आज मंगलबार दिउँसो एक बजे बस्ने संसदीय दलको बैठक अगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकासमन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन् ।
केन्द्रमा नेकपा विभाजित भएर एमाले तथा माओवादी केन्द्र ब्युतिएपछि कर्णालीको प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ । एमालेले समर्थन फिर्ता लिएपछि १३ जना मात्रै सांसद रहेको माओवादी केन्द्रको सरकार अल्पमतमा परेको छ ।
४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको हो । एमालेसँग सभामुखसहित २१ सांसद छन् ।