काठमाडौं जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने र यसको व्यवस्थापन सम्बन्धित नगरपालिकाले मिलाउने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन निर्देशन दिएका छ ।
एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षणको शंका लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समितिले निर्देशन दिएको छ ।
नगरपालिकामा सञ्चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरलाई अध्यावधिक गर्न र आ–आफ्नो नगरपालिका भित्र एक–एक वटा आइशोलेसन/क्वारेन्टाइनको व्यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिए ।
त्यस्तै कोरोना फैलन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यालयमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ ।
सार्वजनिक कार्यक्रम पनि सम्बन्धित निकायको अनुमतिबेगर गर्न नपाइने निर्णय समितिले गरेको छ ।