Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • राप्रपा नेतृत्वलाई प्रश्नैप्रश्न : आन्दोलनमा जान किन ढिलाई ?

    राप्रपा नेतृत्वलाई प्रश्नैप्रश्न : आन्दोलनमा जान किन ढिलाई ?

    जनकराज पाठक
    फाल्गुन २२ २०७८, आइतबार
    2.8K
    SHARES

    राष्ट्र भन्नाले एउटा निश्चित भूगोल र त्यसभित्र बस्ने जनतालाई जनाउँछ । निश्चित भूगोलभित्र बस्ने जनताको पहिचान, स्वतन्त्रता, सार्वभौमकिता र हक अधिकारको संरक्षण, सामाजिक न्याय र आर्थिक समुन्नति नै राष्ट्रियता हो । यो लक्ष्य प्राप्त गर्न राज्यशक्ति सञ्चालनमा सबै क्षेत्र, वर्ग र जातिको समानुपातिक पहुँच हुन जरुरी छ ।

    अर्थतन्त्रमा उन्नतीको लागि राज्यले समान सुरक्षा र अवसरको सुनिश्चितता गर्नुपर्छ । साथै देशमा राष्ट्रिय चरित्र भएका नया संस्थाको निर्माण तथा नयाँ मूल्यमान्यतालाई टेवा दिन पुरानो संस्थाहरुको प्रयोग तथा रुपान्तरणको प्रक्रियालाई बढाउँदै नेपालको राष्ट्रियताको अवधारणासँग सबै नेपालीलाई जोड्न सक्नु नै समावेशी राष्ट्रियता हो ।

    यसको अर्थ शासनमा समेत जनताको सर्वोच्चता छ भन्ने सिद्धान्त व्यवहारमा देखिनु पर्छ। राज्यका सबै तहमा समावेशी र समानुपातिक सिद्धान्तलाई आधार मानि व्यवहारमा उपस्थितिलाई स्विकार गर्ने प्रक्रिया राप्रपाको शुरु देखिकै चिन्तन हो । यसको निरन्तरता राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले सरकारी सेवामा आरक्षणको सिद्धान्तलाई २०५९ सालको बजेटमै उल्लेख गरेका थियो । त्यस बखत राप्रपाको नेतृत्वमा तयार गरिएका कानुनहरु आज आरक्षण सिद्धान्तको आधार बनेका छन् ।

    यो परिवेश र जगमा पुनर्ताजगीसहित नेपालीको राष्ट्रिय राजनीतिमा जवर्जस्त उपस्थित राप्रपाले राज्यवाट सवै जनतालाई कानुनी तथा समान सुरक्षाको अनुभुति र अवसरको समानतालाई ग्यारेन्टी गर्छ । त्यो मानेमा राप्रपा समावेशी राष्ट्रियताको पक्षमा उभिने एकमात्र भिन्न दल हो ।

    आज मुलुकमा सुशासन हराइरहेको अवस्था छ । दलभित्र पनि गुटको स्वार्थले गर्दा राष्ट्रिय स्वार्थ ओझेलमा परेको छ । आम जनताको हितमा निर्णय गर्ने र निर्णय अनुरुप समयतालिका अनुसार कार्यान्वयन गर्ने क्षमता सुशासन हो। आज यस्तो सोच्नु कल्पनामा हराउनु बराबर छ।दलीय भागवन्डा र दलका मुल नेतृत्वको इच्छा शक्तिको अभावमा राज्यका करिव सबै निकाय जनउत्तरदायी बन्न सकेनन् । साथै करिव पंगु नै सावित हुदैछन् । योग्य र सक्षम व्यक्ति भन्दा लठैतहरुको प्रवेशलाई व्यापकता बनाइदै छ ।

    यो यथार्ततालाई चुनौतीको रुपमा लिदै समावेशी राष्ट्रियताको जगलाई बलियो बनाउन बलियो शक्तिको रुपमा राष्ट्रिय राजनीतिमा राप्रपाको उपस्थिति अनिवार्य छ । नेपालमा राष्ट्रिय चरित्र भएको संस्था भनेकै राजसंस्था हो । मुलुक स्थापना र निर्माणमा यसको उल्लेख्य योगदान रहेको छ। हिमाल, पहाड तराई सबै भेगका जनतालाई आपसमा जोड्न सक्ने राजसंस्थालाई संवैधानिक रुपमा स्थापना गरेर राष्ट्रिय एकतालाई अझ बलियो वनाउनुपर्ने आवश्यकता देखिएको छ ।

    नेपाली राष्ट्रियताको संरक्षणको लागि चलेको संघर्षमा एकिकरणको शक्ति र एकतालाई बल पु¥याउन अनि प्रजातन्त्रलाई थप मजवुद वनाउन संविधान भित्रको राजसंस्थाको पक्षमा राप्रपा रहेको छ । यो परिणाम प्राप्त गर्न ध्रविकृत राजनीतिमा राप्रपालाई तत्काल निर्वाचन मार्फत सफलता प्राप्त नहुन सक्छ। त्यसको लागि संघर्ष र आन्दोलनको विकल्प छैन । यसैको लागि राप्रपाको जवरजस्त उपस्थितको आवश्यकता छ।

    सबै धर्मलाई सम्मान गर्दै नेपालीको पहिचान हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने दरिलो अडान र दृष्टिकोणका साथ हिन्दु र वौद्द सभ्यताको साथै मौलिक पहिचान रहेको संस्कृति समेतलाई सुरक्षित राख्न मन, वचन र कर्मले यसलाई अपनाएर हिड्ने दल राप्रपा मात्र हो। हिन्दु पहिचानलाई उन्नति र विकासको बाधक ठान्ने पश्चिमाहरुको खतरनाक चाललाइ बेलैमा जानिएन वा बुझियन भने धर्मभिरुको रुपमा प्रवेश गर्ने व्यापारीहरुबाट देश सुरक्षित रहदैन।

    तसर्थ हिन्दु, किरात, वौद्द, मुसलमान सबै एकमतका साथ नेपालको पहिचान हिन्दु राष्ट्र हुनुपर्छ भन्ने भनाइको नेतृत्व राप्रपाले गर्नुपर्छ। यो सामान्य विषय हैन । मुलुकमा स्थापित शक्तिशाली दलहरु यसको विपक्षमा छन् । दलहरुको कारण जनतासमेत ध्रुविकृत वर्तमानको विश्लेषण गर्दै राप्रपाले आन्दोलनको ज्वारभाटा उठाउनु पर्छ । राप्रपाको संसदमा हुने उपस्थितिले यसको समाधान प्राय असम्भव छ । तसर्थ मूल नीति प्राप्त गर्न राप्रपा आन्दोलित हुनु जरुरी छ ।

    मुलुकका शासक वर्गहरुले नेपाललाई उत्पादन गर्ने देश हैन, उपभोग गर्ने देशमा रुपान्तरण गर्दैछन् । आर्थिक अराजकतालाई संस्थागत गरिदैछ। प्रशासनको चरम दुरुपयोग गर्न थालिएको छ। नियम र कानुनहरु किताबमा सिमित हुदैछन् । अग्रगामी र जनमुखी भनिएका दलहरुले सत्ता स्वार्थको खाडलमा मुलुकलाइ विकराल वनाउदैछन् ।

    राजनीतलाई जनताको पक्षमा नभएर सत्ताधारीहरुको नाङ्गो हतियार झै अगाडि बढाइएको छ। शोषण र भ्रष्टाचारलाई मूलधारमा रहेका दलहरुले एकमतका साथ स्वीकार गरेका छन् । सत्ताधारीहरुको सबै गलत विषयलाई समेत मानेर जनताले हिड्नुपर्ने अवस्थाको श्रृजना गरिएको छ।

    विश्व वैंक वा अन्यत्रबाट ऋण समेत उपलव्ध नभएको अवस्थामा राजा महेन्द्रको सफल र प्रभावकारी कुटनीतिमार्फत् अमेरिका, चीन, भारत, रुस, वेलायतजस्ता देशहरुवाट सहयोग लिएर बनेको मुलुकको मुख्य आधारशीलाको रुपमा रहेको बासवारी छालाजुत्ता कारखाना, जचुकाली, विरगंज चिनी कारखाना, लुम्बिनी चिनि कारखानालगायतका दर्जनौ कारखानाहरु व्यवस्था परिवर्तनको नाममा खलास गरिएको छ। यो परिवेशमा रहेको चंगुलबाट मुलुकलाई जोगाउन फरकधारमा रहेको राप्रपाबाहेक अरुले सक्दैनन् ।

    तसर्थ राप्रपाको आन्दोलित रुप जनताले देख्न पाउनुपर्छ। जनता परिवर्तनको पक्षमा छन् । यसको नेतृत्व राप्रपाले किन गर्न सकिरहेको छैन, आश्चर्य यहाँ छ। संविधानमा अभिव्यक्त भावना अनुरुप जनताको हित र अधिकार संरक्षणको लागि सरकार केन्द्रित हुनुपर्छ भन्ने चिन्तनबाट शासकहरु च्युत भएका छन् । सरकार केवल व्यक्तिगत र दलगत स्वार्थको लागि केन्द्रित भइरहेको प्रष्ट देखिन्छ । कुरा अग्रगमन, व्यवहारमा लुट आजको यथार्थ हो। सत्तालाई अधिकारको दुरुपयोग गरि कुत असुल्ने अखडा बनाइदैछ ।

    फलस्वरूप सत्तामा जान दलहरु जस्तोसुकै हतकन्डा गर्न तयार छन् । केवल सत्ताको लागि पैसा, पैसाको लागि भ्रष्टाचार । यहि गोलचक्कर भित्र आज मुलुक फसेको छ। यतिमात्र हैन । यो सवै परिवेशबाट मुलुकलाई निकास दिने दल राप्रपा बाहेक छैन। तर राप्रपा किन सुस्त छ ? राप्रपा स्थापनाको छोटो अवधिमा राष्ट्रिय राजनीतिमा उदाएको र मौका प्रशस्त पाएको दल हो। यद्यपी राप्रपा किन सधै कमजोर रह्यो ?

    यो चिन्तनको परिवेशमा गएको महाधिवेशनमा कार्यकर्ताहरुले व्यापक वहस गरे । देशभरिका कार्यकर्ताले राप्रपाको उन्नतीको बाधक पुरानो पुस्तालाई ठानेर नया नेतृत्व समेत स्थापित गरे। राप्रपाको लोकप्रियता दिनानुदिन बढदो छ । यसमा गोलवद्द हुनेको संख्या बढिरहेछ । अझ बढ्नेछ तर नयाँ नेतृत्व पनि सुस्त देखिन थालेको छ। आन्तरिक व्यवस्थापनमा चुस्तता ल्याउन सकिएन भने हाम्रो लोकप्रियता कमजोर नहोला भन्न सकिन्न।

    राजा, धर्म, संस्कृति, कुल परम्परा मान्ने यत्रो वर्गको साथ हामीलाई छ । पञ्चायत व्यवस्थामा काम गरेका बहुदलीय व्यवस्थालाई समेत नेतृत्व दिएका क्षमता र दक्षवान, निष्कलंक नेताहरु एक भएर उभिएका छन् । अब हामी उठन सक्ने कि नसक्ने ?

    मानव अधिकार, प्रेस, अख्तियार, अदालतमाथिको नियन्त्रणको प्रयास, आफूभन्दा फरक मत राख्नेलाई निषेधको राजनीतिले व्यवस्थामाथि नै आक्रोस बढ्दो छ । यो परिवेशमा राष्ट्रियताको जगलाई सुदृढ तुल्याउन, राष्ट्रको मौलिक पहिचानको पर्याय रहिआएको धम संस्कृतिको जगलाई मजवुद बनाउन, राष्ट्र निर्माणमा उल्लेख योगदान दिँदै आएको राजसंस्था पुनस्र्थापना गर्न अब राप्रपाले विलम्ब नगरी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।

    नेतृत्वको छाति कुखुरे हुनुहुँदैन । चौडा र विशाल छाति लिएर तेरो–मेरा नभनी मन खोलेर अगाडि बढ्नुपर्छ । अब घर घुमेर कानभित्र छिर्ने गणेशप्रति नेतृत्व चनाखो हुनुपर्छ ।
    नेतृत्वमा पनि छलकपट, जालझेल रहनुहुन्न । यो इतिहासले दिएको अन्तिम अवसर पनि हो । यसको सदुपयोग गरी राप्रपालाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी दलको रुपमा स्थापित गराउन नसके भावी पुस्ताले माफी गर्ने छैन । कसैको जीवनसँग खेलबाड गर्ने कसैलाई पनि अब माफी हुने छैन ।

    यसतर्फ वर्तमान नेतृत्वले ध्यान दिनुपर्छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, गौरवशाली इतिहास, राष्ट्रिय चरित्र, कला, संस्कृति, भाषा र भेषको संरक्षणको लागि शिक्षा, स्वास्थ, रोजगारी, यातायात, आवास, पिउने पानी, जिउधनको सुरक्षा, महंगी नियन्त्रण र भ्रष्टाचारको विरुद्ध अबको आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ। यसको विकल्प देख्नै हुन्न । हेर्नै हुन्न । सुन्नै हुन्न ।
    आन्दोलित रुपमनै स्थानीय तहको निर्वाचनमा भाग लिनुपर्छ ।

    आन्दोलनको पृष्ठभूमिमा उभिएको राप्रपाले जतिजति आफ्ना आन्दोलित विचार अगाडि बढाउँछ । उतिउति जनसमर्थन पाउने निश्चित छ । यो कामको निमित्त कार्यकर्ताको मनोवल उचो हुनु जरुरी छ । महाधिवेशनले अस्वीकार गरेको, कार्यकर्तामाझ अलोकप्रीय व्यक्तिहरुको समूह वा झुन्डलाई लिएर गन्तव्यमा पुग्न सकिदैन ।

    तेरोमेरो नभनी कुखुरे छाती हैन, विशाल हृदयका साथ नेतृत्व अगाडि बढ्नु जरुरी छ । यसरी नेतृत्व अगाडि बढ्ने हो भने अबको दिन राप्रपाको हो भविष्य उज्यालो छ । राप्रपाले मुलुकको नेतृत्व गर्ने अवसर पायो भने नेपाल दक्षिण एसियाकै उज्यालो मुलुकको रुपमा स्थापित हुनेछ ।

    (पाठक राप्रपा केन्द्रीय सदस्य हुन्)


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend