पहिलो पटक आमा बनेकी रमिला काखमा रहर लाग्दो बच्चा खेलाउन पाएर अत्यन्त खुसी थिइन् ।
उनीसँगै परिवारका सबै सदस्य खुसी थिए । तर यो खुसी रमिलाको मनमा धेरै दिन टिक्न सकेन ।
उनी भन्छिन्, “बच्चा जन्मेको एक हप्ता पनि नबित्दै एक्कासी मन उदास हुन थाल्यो । बिना कारण रुन मन लाग्ने, अरु बोलेको सुन्दा पनि झिजो लाग्ने, बच्चा स्वस्थ छ तर पनि बच्चालाई केही नराम्रो हुन्छ कि भन्ने मनमा शंका लाग्ने, त्यतिकै डर लाग्ने हुन थाल्यो ।”
यो समस्या रमिलाको मात्र नभई संसारका ८० प्रतिशत महिलामा देखिने समस्या हो ।
बच्चा जन्मेको दुई तीन दिनदेखि दुई तीन हप्तासम्म यस्ता लक्षण धेरै सुत्केरी महिलामा देखिन सक्छ । यसलाई पोष्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ ।
यो समस्या केही समयपछि आफैँ ठीक भएर जान्छ । तर कहिलेकाहीँ यो समस्या निकै लामो समयसम्म रही जटिल रुप लिन सक्छ ।
यसलाई सुत्केरी पछिको डिप्रेशन (Post partum Depression) भनिन्छ । तथ्याङ्क अनुसार २० प्रतिशत महिलाहरुमा पोष्ट पार्टम डिप्रेशन हुने गरेको पाइन्छ ।
पोष्ट पार्टम डिप्रेशनका लक्षणहरु
– मन उदास हुन्छ । कुनै पनि कुरामा मन खुसी हुँदैन ।
– बच्चाप्रतिको मोह कम हुँदै जान्छ वा आफ्नो बच्चालाई अरु कसैले केही नराम्रो गर्दैछ भन्ने शंका उत्पन्न हुन्छ र अरुप्रति आशंकित भैरहन्छ ।
– बिनाकारण रुन मन लाग्छ । रुने कारण खोजिरहने र छिनछिनमा रोइरहने प्रवृत्ति हुन्छ ।
– सानो कुरामा पनि चिडिने, रिसाउने, झर्कने हुन्छ ।
– खान मन नगर्ने वा धेरै खाने हुन्छ । धेरै खाइरहे पनि शरीरमा शक्ति हराएको महसुस हुन्छ ।
– निद्रामा गडबडी (धेरै सुत्ने वा निद्रा नै नलाग्ने) हुन सक्छ ।
– आफ्नो बच्चालाई पनि स्याहार गर्न सक्दिनँ । म आमा बन्न योग्य छैन भन्ने भावना मनमा आउन सक्छ ।
– एक्लोपनको महसुस हुन्छ ।
– कसैसँग नबोली एक्लै टोलाएर बस्ने हुन्छ ।
– आफ्नो जीवन आफैँलाई बोझ लाग्न थाल्छ ।
– बच्चालाई हानी गर्ने वा आफ्नो जीवन समाप्त गर्ने (आत्महत्या) सोच मनमा आउन सक्छ ।
यी माथिका लक्षणहरुमध्ये कम्तीमा पनि कुनै पाँचवटा लक्षणहरु दुई हप्तादेखि बढी समयसम्म देखिएमा पोष्टपार्टम डिप्रेशन भएको हुन सक्छ ।
यो समस्या आउनुको पछाडि धेरै कारणहरु हुनसक्छन् । मुख्य रुपमा निम्न दुई कारण लिन सकिन्छ ।
१) शारीरिक कारण : गर्भावस्थाको समयदेखि नै महिलाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । त्यसमध्ये सबैभन्दा ठूलो मात्रामा हर्मोनको परिवर्तन भएको हुन्छ ।
एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन प्रशवको समयमा अत्याधिक स्राव हुन्छ । यसका साथै थायरोइड तथा कर्टिसोल हर्मोन जस्ता हर्मोन अधिक उत्पादन हुने हुँदा यसको कारणले शरीरमा थकान, सुस्तीपनका साथै मनमा उदासी छाउँछ ।
प्रशवपछि बिस्तारै यी हर्मोनहरुको उत्पादनमा सन्तुलन आउनु पर्ने हो । तर कहिलेकाहीँ सन्तुलन बिग्रन गई सुत्केरी महिला डिप्रेशनको अवस्थामा पुग्न सक्छन् ।
२) संवेगात्मक कारण : प्रशवपछि महिलाको शरीर कमजोर हुन्छ । खानपान तथा आरामको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने सबैलाई थाहा छ ।
आफ्नो क्षमता अनुसार सबैले यसको प्रबन्ध मिलाएकै हुन्छ । तर सबैभन्दा मुख्य कुरो हर्मोनको परिवर्तनले पैदा गरेको मानसिक तनावको विषयमा सबैलाई जानकारी पनि हुँदैन र त्यस विषयमा जानकारी लिने चासो राखेको पनि पाइन्न ।
महिलालाई सबैभन्दा बढी तनाव हर्मोनको कारणले हुन्छ । त्यसबाहेक आर्थिक कारण, पारिवारिक सम्बन्धको कारण आदिले पनि तनाव बढाउन सक्छ । यही तनाव लामो समयसम्म रहन गएमा त्यसले डिप्रेशनको रुप लिन्छ ।
कस्ता महिलालाई पोष्टपार्टम डिप्रेशनको बढी खतरा हुने संभावना रहन्छ ?
विशेषगरी यो समयमा महिलाको शरीरमा हर्मोनको परिवर्तन भारी मात्रामा हुने हुनाले हर्मोनको अवस्था सामान्य नहुदासम्म जो कोही सुत्केरी महिलालाई केही समयको लागि समस्या आउन सक्छ ।
तर बिस्तारै हर्मोनको सन्तुलन हुँदै गएपछि सामान्य अवस्थामा फर्किन्छन् ।
निम्न अवस्था भएको खण्डमा सुत्केरी महिलालाई बढी खतरा हुने संभावना रहन्छ ।
त्यसैले समयमै उचित रेखदेखको आवश्यकता पर्छ ।
-पहिलो गर्भको समय वा गर्भ हुनुभन्दा पनि अघि डिप्रेशन भएको थियो भने ।
-परिवारका कुनै सदस्यलाई डिप्रेशन वा कुनै पनि मुड डिस्अर्डर सम्बन्धी समस्या थियो वा छ भने ।
-गर्भावस्थामा कुनै रोग लागेको थियो भने ।
-बच्चामा कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिएमा ।
-जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेर स्याहार गर्ने समस्या आएमा ।
-घर परिवार वा श्रीमान श्रीमती बिच सम्बन्ध राम्रो नभएमा ।
-नचाहेको वा योजना बिनाको गर्भ रहेमा ।
-विशेषगरी पोष्टपार्टम डिप्रेशन पहिलो पटक आमा बन्ने महिलालाई हुने गरे पनि पहिलो पटक बच्चा
-जन्माउदा परिवारमा आर्थिक समस्या आइपरेको वा आफ्नो काम छुटेको थियो भने दोस्रो पटक त्यसको असरले मनमा तनाव पैदा गर्न सक्छ । तनावको कारण डिप्रेशन हुन सक्छ ।
यसले पार्ने असर
पोष्टपार्टम डिप्रेशनको असर मुख्य त बच्चाको आमालाई नै पर्छ । यसको कारणले आमाको स्वास्थ्य अवस्था बिग्रन्छ ।
उपचार नपाएमा यसको असर लामो समयसम्म रहन सक्छ । यो समस्या डिप्रेशनकै अवस्थामा नरहेर अन्य डिस्अर्डरको रुपमा देखा पर्न पनि सक्छ ।
आमाको डिप्रेशनको असर बच्चामाथि प्रत्यक्ष पर्छ । बच्चामा व्यवहारिक तथा संवेगात्मक समस्या देखिन सक्छ ।
बच्चा धेरै रोइरहने हुन सक्छ । उसमा खाने, सुत्ने समस्या आउन सक्छ । बच्चाको बोलीको विकास पनि ढिलो हुन्छ ।
त्यसैले समयमै रोगको पहिचान गर्न सकेमा उपचार गर्न सजिलो हुन्छ । बिरामी आफैँले आफूलाई के भैरहेको छ भन्ने कुरामा अनभिज्ञ हुन्छ ।
यस्तो अवस्थामा परिवारका सदस्यले सहयोग गर्नुपर्ने हुन्छ । सबैको शरीर एकनाशको हुँदैन ।
महिलाले बच्चा जन्माउनु सामान्य कुरा हो तर यही सामान्य कुरा हरेक महिलाको लागि सामान्य नहुन सक्छ ।
पहिलो पटक आमा बन्ने सात जना महिलामध्ये एउटी महिलालाई यो समस्या देखिने गरेको अध्ययनले देखाउँछ । त्यो एउटी महिला आफ्नै घरकी छोरी बुहारी पनि हुन सक्छे ।
यस विषयमा गम्भीर हुनु आवश्यक छ । यसैले लक्षण देखिएमा तुरुन्त विशेषज्ञसँग परामर्श लिई सोही अनुरुप कार्य गर्न आवश्यक हुन्छ ।
(लेखक आचार्य मनोपरामर्श दाता हुन् । साथै सारथि फाउण्डेशन नेपालका अध्यक्ष हुन्) acharyamla@gmail.com