काठमाडौं : आज भन्दा करिव ३० वर्षअघि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरा गर्दा धेरैले हाँसोको पात्र बनाए ।
विपक्षी दलहरुले मजाक उडाए । धेरैले सोचेका पनि थिएनन् कि मेलम्चीको पानी काठमाडौंमा आउनेछ र काठमाडौंवासीको तिर्खा मेटाउन सफल हुनेछ ।
हुन पनि यो बीचमा, मेलम्ची निरन्तर बगिरह्यो । काठमाडौंको बागमतीमा धेरै पानी बगिसक्यो । दिन, हप्ता, महिना हुँदै वर्षाैंवर्ष विते ।
एक–दुई होइन, दर्जनौं सरकार बने । दर्जनौं प्रधानमन्त्री बने । तीस वर्षका बीचमा मन्त्री बन्नेको सूची लामो छ । तर मेलम्ची केवल सपना मात्रै बन्यो ।
भनिन्छ नि, जहाँ इच्छा, त्यहाँ उपाय । यहीबीचमा काठमाडौंमा जनघनत्व अस्वभाविक रुपमा बढ्यो ।
काठमाडौंले अब आफ्नै क्षमताले राजधानीबासीलाई पानी खुवाउन नसक्नेजस्तै भयो ।
काठमाडौं काकाकुल बन्यो । अनि बल्ल विकल्पको खोजी भयो । अनि सम्झनामा आए उनै कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजी ।
किसुनजीको सपनालाई मजाक बनाउनेहरु होसमा आए । सुरु भयो, मेलम्चीको पानी काठमाडौं ल्याउने योजना ।
विभिन्न आरोह-अवरोह पार गर्दै अन्तत मेलम्चीको पानी काठमाडौंका धारामा खस्ने दिन आएको छ ।
विगतमा समयको भाका सार्दासार्दै तीन दशक अघिको सपनाले सार्थकता पाएको छ । मेलम्चीको पानीको आशमा बसेको काठमाडौंले अब त्राण पाउने भएको छ ।
आइतबारदेखि काठमाडौवासीका धारामा मेलम्चीको पानी आएको हो ।
काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट घरका धारामा पानी पठाएर मेलम्चीको पानी वितरणको शुभारम्भ गरिएको थियो।
हाल पुराना पानीपोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइनहरु परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलले जनाएको छ ।
आइतबारदेखि नै देवकोटा सडक, बत्तिसपुतली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण सुरु गरिएको हो ।
पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने छ ।
मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो भने गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो ।
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो ।
काठमाडौं उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ।
उपत्यका बासीको थप मागलाई पूर्ति गर्न सिन्धुपाल्चोककै याङ्ग्री खोलाबाट १७ करोड लिटर र लार्केबाट १७ गरी दैनिक ३४ करोड लिटर पानी ल्याउने सरकारको योजना छ।
केयुकेयल प्रवक्ता प्रकाश कुमार राईका अनुसार मेलम्ची खानेपानी र केयुकेयलबाट उत्पादित पानी एकसाथ वितरण गरिने छ।
केयुकेयलबाट वर्षातको समयमा दैनिक करिब १७ करोड लिटर र सुख्खायाममा १० करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति हुँदै आएको छ।
खानेपानी मन्त्रालयका अनुसार आइतबार र सोमबार दैनिक ४ करोड लिटर, मंगलबार साढे ५ करोड लिटर पानी वितरण हुने छ।
आगामी बुधबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण गर्ने तयारी छ।
सरकारले किसुनजीलाई विर्षेको छ । मेलम्चीको सपना देख्ने र देखाउने किसुनजीको योगदानलाई विर्षन र विर्साउन खोजेको छ सरकारले ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त आफैले मेलम्ची आयोजना ल्याउन सफल भएजस्तै अभिव्यक्ति दिएका छन् ।
उनका मन्त्रीको बोली पनि ओलीको जस्तै छ । मानौं कि तीन वर्षकै बीचमा मेलम्ची आयोजना सुरु भएर पूर्णता पाएको हो ।
सरकारले विर्षन खोजेपनि काठमाडौंबासीले त कहाँ विर्षनसक्छन् र ? किसुनजीकै सपनाले तीन दशकदेखि तिर्खाएको काठमाडौंको प्यास मेटिने भएको छ ।
त्यसैले आज धेरैले तिनै किसुनजीलाई सम्झेका छन् । र सम्झिरहनेछन् किसुनजी काठमाडौबासीको मनमस्तिष्कमा ।