Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • प्रतिपक्षको नजरमा सरकारः कोरोना नियन्त्रणमा कहाँ चुक्यो ?

    प्रतिपक्षको नजरमा सरकारः कोरोना नियन्त्रणमा कहाँ चुक्यो ?

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणदर बढिरहेको छ । कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या आइतबारसम्म ७७ हजार ४० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पहिलो र दोस्रो लहरमा संक्रमित भएकाहरु पनि यसपटक संक्रमित बनेको मन्त्रालयले जनाएको छ । कोरोना नियन्त्रका लागि प्रभावकारी कदम नचालेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

    कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई तीब्र आलोचना गरेको नेपाली कांग्रेसको नेतृत्वमा अहिले पाँच दलीय गठबन्धनको सरकार छ । स्वास्थ्य क्षेत्रको महत्वपूर्ण मानिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले सम्हालिरहेको छ ।

    हिजोको सत्तापक्ष आज प्रतिपक्षमा आएको छ । प्रतिपक्षमा खुम्चिएको एमालेले कोरोना नियन्त्रणका लागि सरकार योजना बनाउन चुकेको आरोप लगाएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै ठोस योजना बनाउन नसकेको भन्दै केही दिन अगाडि एमालेका नेताहरुले वालुवाटार पुगेरै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

    एमालेका नेता तथा पूर्व स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणमा सरकार राज्यका निकायहरुबीच समन्वय गर्न चुकेको आरोप लगाएका छन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले सबैलाई समेटेर नियन्त्रणको योजना बनाउनुपर्ने हो, सबै क्षेत्रसंग समन्वय गर्न मन्त्रालय चुकेको देखिन्छ ।’

    कोरोना नियन्त्रका लागि बनाइएको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ‘सीसीएमसीसी’सँग पनि सरकारले समन्वय नगरेको पूर्वमन्त्री तामाङ बताउँछन् । उनले आफ्नो १९ दिने कार्यकाल सुखद र सफल भएको दाबी गर्दै भने, ‘छोटै अवधिमा पनि धेरै अनुभव भोगेको छु । खोप ल्याउने कुरामा हामी सफल भयौँ । त्यतिबेला हाम्रो प्राथमिकता खोप ल्याउने नै थियो त्यसैले हामी प्रकृया मिलाएर खोप लगाउने वातावरण सिर्जना ग¥यौँ , फलत आज पनि खोप आइरहेको छ। ’

    प्रतिपक्षको गुनासो

    सर्वसाधारण जनताबाट समेत स्वास्थ्य मापदण्ड पालना नहुनु तथा सुरक्षा सतर्कता नअपनाइँदा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दो छ । पछिल्लो समय संक्रमितको दर ह्वात्तै बढेको छ । कोरोना नियन्त्रणका लागि लागू गरिएको सवारीमा जोर विजोर प्रणालीले संक्रमणदर घटाउनेभन्दा फैलिने जोखिम उच्च छ ।

    विभिन्न मन्त्रालय र विभागबीच नै समन्वय नहुँदा स्वास्थ्य मन्त्रालयले जारी गरेका निर्देशन नै कार्यान्वयनमा चुनौति देखिएको बताइन्छ । उच्चस्तरीय समन्वय समिति आजको आवश्यकता भएको एमालेको ठहर छ ।

    नेता तामाङ भन्छन्, ‘हिजो प्रतिपक्षमा रहँदा उहाँहरुले उच्चस्तरीय समिति बनाउन दबाव दिनुभएको थियो आज उहाँहरु यस बिषयमा मौन हुनुहुन्छ, हुन त गठबन्धनका दलहरु भएर होला । अर्को कुरा हिजो हामी सरकारमा हुँदा गरेका अभ्यासहरुसमेत बुझ्ने कोसिस गरेन । प्रतिपक्षीको अनुभव सुन्ने र योजना बनाउने काम यो सरकारबाट भएन । अहिले जे जति भएको छ स्वास्थ्यका कर्मचारीले आफ्नो बलबुताबाट गरेका हुन् । त्यो बाहेक बाहेक राजनीतिक रुपमा गर्नुपर्ने काममा सरकार चुकेको छ ।’

    प्रतिपक्षले कोरोना नियन्त्रणमा सरकार अलमलिएको आरोप लगाइरहँदा सरकारले भने नियन्त्रका लागि प्रभावकारी काम गरिरहेको दाबी गरेको छ । कोरोना नियन्त्रका लागि सघाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले संक्रमण नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् ।

    प्रायः सबैजसो सम्बोधन र भटेघाटमा देउवाले सबै मिलेर कोरोना नियन्त्रण गर्न अपिल गर्दै आएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्नेक्रममा पनि प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा सरकार क्रियाशील रहेको र कोरोनामाथि विजय प्राप्त गर्ने बताएका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend