Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • संविधानको स्पिरिट र भावना अनुसार सरकार अगाडि बढ्छ : सरकारका प्रवक्ता

    संविधानको स्पिरिट र भावना अनुसार सरकार अगाडि बढ्छ : सरकारका प्रवक्ता

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार संविधानको भावना अनुसार अगाडि बढेको स्पष्ट पारेका छन् ।

    उनले संविधानलाई तहसनहस गरेर मुलुकलाई एकदलीय अधिनायकवादतर्फ उन्मुख गराउने अघिल्लो सरकारलाई विस्थापित गरेर बर्तमान सरकार गठन भएको भन्दै संविधान कार्यान्वयनमा आशंका नगर्न आग्रह गरे ।

    उनले संविधानको भावना अनुसार सरकारले मुलुकलाई निर्देशित गर्ने समेत बताए ।

    ‘संविधानको मूल स्पिरिट अनुसार सरकार चलेको छ । विगतको सरकारले संविधानलाई तहसनहस गरेको थियो । अधिनायकवादी व्यवस्थातर्फ मुलुकलाई अगाडि बढाउने प्रयास अघिल्लो सरकारले गरेको थियो,’ बालुवाटारमा कानुन व्यवसायीसँगको छलफलपछि सञ्चारकर्मीसँग मन्त्री कार्कीले भने, ‘यो सरकारले मुलुकलाई संविधानको व्यवस्था अनुसार अगाडि बढाउँछ । हामी संविधानको भावना र स्पिरिट अनुसार चल्छौं । संविधानको भावना अनुसार मुलुकलाई निर्देशित गर्छाैं ।’

    उनले सरकार असफल भएको भन्ने नेकपा एमालेको दावी गलत भएको बताए । साथै उनले सरकारको मूल्यांकन जनताले आगामी निर्वाचनमा गर्ने प्रष्ट पारे ।

    ‘उहाँको तीन वर्षको कार्यकालमा मुलुकलाई कुन दिशातर्फ अग्रसर गराउन खोज्नुभएको थियो, त्यसको समिक्षा आमनिर्वाचनमा जनताले गर्छन्,’ मन्त्री कार्कीले भने, ‘उहाँको सरकार असफल भएरै यो सरकार आएको हो । यो सरकारले दीगो शान्ति, समृद्धि र स्थायित्वको बाटोमा लैजान्छ ।’

    आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वक्ताव्य जारी गर्दै सरकार असफल भएको दावी गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend