आइतबार, माघ ९ २०७८

कोरोनाका बिरामीबाट अस्पताल भरिँदैः अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने

कोरोनाका बिरामीबाट अस्पताल भरिँदैः अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने


Nepal Manch
पौस ३० २०७८, शुक्रबार

काठमाडौँ । अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ ।
सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् ।

अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताए । “अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उनले भने, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।” सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ ।

उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ । नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयु)मा उपचार भइरहेको छ । उनका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् ।

यस्तै अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ । यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो । टेकु अस्पतालमा हिजो पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ सङ्क्रमण भएको थियो । अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको छ । अस्पतालका निर्देशक डा रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताए । “ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ । त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ”, उनले भने।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट