काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा थुनेको बाघ खोरको एंगल बंगाएर जंगल पसेको छ। बर्दिया क्षेत्रमा मानिसलाई पटक पटक आक्रमण गरेपछि उक्त बाघलाई चैत ५ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनिएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार डार्ट गरि (गोली हानी लठ्याएर) समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो।
बाघको अनुगमनको लागि निकुञ्जले राखेको सिसी टिभी फूटेजमा बाघले खोरको डंडी (एंगल) बंगाएर बिहान सवा ६ बजेतिर खोरबाट निस्किएर जंगलमा गएको देखिएको छ ।
बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यसका साथै सर्वसाधारणलाई साईकल, मोटरसाईकल, अटो रिक्सा जस्ता सवारी साधानमा यात्रा नगर्न सजग गरिएको छ ।