आइतबार, माघ ९ २०७८

शिक्षा मन्त्रालयकाे निर्देशन नमान्ने निर्णय !

शिक्षा मन्त्रालयकाे निर्देशन नमान्ने निर्णय !


Nepal Manch
पौस २८ २०७८, बुधबार

काठमाडौं । शिक्षा मन्त्रालयले साेमबार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै देशभरका विद्यालयलाई निर्देशन दियाे । तर म्याग्दीकाे जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले मंगलबार शिक्षा मन्त्रालयकाे उक्त निर्देशन नमान्ने निर्णय गर्‍याे ।

उक्त निर्णयकाे आधारमा म्याग्दीका शैक्षिक संस्था तत्काल बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । मंगलबार सदरमुकाम बेनीमा बसेको डीसीएमसीकाे बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चीरञ्जीवी रानाले बताए । सीसीएमसीका संयोजकसमेत रहेका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना सङ्क्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिए।

बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने, खोप अभियानलाई व्यापक बनाउने, स्वास्थ्य पूर्वाधार र सामग्रीसँगै जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्लाव्यापी रूपमा कोरोना सङ्क्रमणबाट बच्च र बचाउन तपाईंको मास्क खोइ ? अभियान चलाउने, सञ्चार माध्ययममार्फत प्रचारप्रसार गर्ने, सामाजिक र भौतिक दूरी कायम गर्न लगाउने, २५ जनाभन्दा बढी मानिस जम्मा भएर कुनै पनि सार्वजनिक कार्यक्रम, मेला, महोत्सव तथा भेला नगर्ने र गर्न रोक लगाउने निर्णयसमेत गरेकाे छ ।

स्मार्ट लकडाउन, २०७८ मा भएको सूचकअनुसार जोखिम मूल्याङ्कन र लकडाउनको तह विश्लेषण गरी स्थानीय तहले कार्यान्वयन गर्ने र सीसीएमसीलाई नियमितरूपमा जानकारी गराउने निर्णय भएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट