आइतबार, माघ ९ २०७८

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित ४ हजार नाघेपछि सीडीओहरुले गरे यस्तो निर्णय

काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित ४ हजार नाघेपछि सीडीओहरुले गरे यस्तो निर्णय


Nepal Manch
पौस २७ २०७८, मंगलबार

काठमाडौँ । काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ४ हजार नाघेपछि २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरिएको छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो । यो निर्णयसँगै भेला, सम्मेलन, जुलुस निकाल्न रोक लागेको छ ।

सोही क्रममा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर रहेका छन् । काठमाडौं जिल्लामा २ हजार ६५५ जना सक्रिय संक्रमित रहेकोमा भक्तपुरमा ६३३ र ललितपुरमा ९ सय सक्रिय संक्रमित रहेको तथ्यांकले देखाएको छ । यी जिल्लामा कुल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार १८८ रहेको छ ।

त्यसैगरी २ सयभन्दा बढी सक्रिय संक्रमित संख्या भएका जिल्लाहरू सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले संक्रमण बढ्दै गएकोमा ओमिक्रोन नै हो भनेर ठ्याक्कै भन्न नसकिने बताए । ‘ओमिक्रोनले नै संक्रमण फैलाइरहेको हो कि होइन भन्ने कुरा अझै यकीन भइसकेको छैन किनभने बिचमा डेल्टा भेरिएन्ट पनि सँगसँगै थियो‚’ डा पुन भन्छन्‚ ‘भारतमा पनि संक्रमण बढेको छ तर धेरै संख्यामा ओमिक्रोन देखिएको छैन । अझै स्पष्ट भइसकेको छैन । डेल्टा र ओमिक्रोन सँगसँगै कुदिरहेको पो हो कि’

डा पुनका अनुसार दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरिएन्टमा सामान्य जीउ दुख्ने, खोकी लाग्ने, टाउको दुख्ने लक्षण थियो ।बेलायतमा पनि उस्तै उस्तै लक्षण‚ जस्तैः थकित हुने, नाकबाट पानी बग्ने, जीउ दुख्ने लक्षण देखिएका छन् । ‘ओमिक्रोनका लक्षण रुघाखोकीसँग धेरै मिल्दोजुल्दो छ । संक्रमण संख्या बढेको देखिए पनि अस्पतालमा बिरामी भर्नाको विश्लेषण गर्न जरुरी छ । बढिरहेको संख्या ओमिक्रोन नै हो भनेर अहिले नै भन्न गाह्रो छ,’ उनले भने ।

संक्रमणदर बढेसँगै तेस्रो लहरको संकेत देखिइसकेको उनी बताउँछन् । डा पुन भन्छन्‚ ‘अहिलेसम्म गरिएका अध्ययनले ओमिक्रोन छिटो फैलिए पनि डेल्टाभन्दा कम घातक भन्ने देखाएको छ । संक्रमितमात्र बढ्ने लहर हो कि अस्पताल भर्ना हुने अवस्था हो कि त्यो हेर्न जरुरी छ । आँत्तिनु, त्रसित हुनुभन्दा पनि सतर्क रहनुपर्छ ।’


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट