आइतबार, माघ ९ २०७८

उपत्यकामा कोरोना नियन्त्रण गर्न कस्तो छ तयारी ? के भन्छन् तीनै जिल्लाका सिडियोहरु ?

उपत्यकामा कोरोना नियन्त्रण गर्न कस्तो छ तयारी ? के भन्छन् तीनै जिल्लाका सिडियोहरु ?

'कोरोना संक्रमणलाई न्यूनीकरण गर्न खाेपकाे मात्र बढाऔँ'


Nepal Manch
पौस २५ २०७८, आइतबार

काठमाडाैँ । आक्रान्त रुपमा फैलिएको कोरोना महामारीले समग्र विश्वलाई नै प्रभावित पारिरहेको  छ । विश्वको अर्थतन्त्रलाई कमजोर बनाएको कोरोना महामारीको प्रभाव पुन: नेपालसहित विभिन्न मुलुकहरुमा बढ्दै गएकाे छ।

छिमेकी मुलुक भारतमा दैनिक हजारौँकाे संख्यामा मानिसहरु संक्रमित हुन थालेका छन् । भारतसँग पूर्व, पश्चिम र दक्षिण गरी तीन दिशामा नेपालको खुल्ला सिमाना रहेको छ ।

पछिल्लो अवस्थामा नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । शुक्रबार २४ जनामा ओमिक्रोन पुष्टि भएको बताएको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दिनमा कोरोना संक्रमण दर नै बढेको देखिएको छ । शनिबार मात्रै देशभर ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जसको प्रत्यक्ष कारण भारतसँग खुल्ला सिमाना रहेको छ । यसको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकामा समेत परेकाे छ।

यसै सन्दर्भमा हामीले कोरोना संक्रमण हुन नदिन, जोखिम न्यूनीकरण कम गर्न र संक्रमणबाट बच्न समग्र उपत्यकाका तीन जिल्लाको योजना तथा तयारी के कस्तो रहेकाे छ भनेर ती जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग नेपालमञ्च डटकमकर्मी इन्दु धामीले सम्वाद गरेका छन् । साेही सम्वादकाे सम्पादित अंश:

‘खोपको मात्रा उल्लेखित रुपमा बढाउनु पर्छ’

गोबिन्द प्रसाद रिजाल, प्रमुख जिल्ला अधिकारी, काठमाडौैं

मुख्य रुपमा त खोपको मात्रा कम भयो कि भनेर हामीले खोप विस्तार गनुपर्छ भन्ने हो । खोप लगाउने चरणसँगै खोपको मात्रापछि बढाएर लैजाने कि भन्ने छ । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढी देखिन थालेपछि हामीले पनि भीडभाडहरुलाई केही नियन्त्रण गर्ने कि भन्ने निर्णयमा हामी पुगेको अवस्था हो ।

तथापि निर्णय भने भएको छैन सम्भवतह आज या भोलिमा बैठक बसेर निर्णय गर्ने तयारीमा छाैँ । गत शुक्रबार मात्र सीसीएमसीको बैठक भएको थियो । बैठक भए पनि बैठको निर्णय प्राप्त भएको छैन । आजभोलिमा निर्णय प्राप्त हुन्छ होला । सीसीएमसीको निर्णय प्राप्त भएपछि हामी पनि उक्त निर्णयअनुसार अगाडि बढ्ने योजनामा छौँ ।

यसैगरी स्मार्ट लकडाउनको कुरा पनि आएको छ तर सीसीएमसीमा छलफल भएको हो की भन्ने हामीले पनि बाहिरीगत रुपमा सुनेका छौँ । तर ठ्याक्कै के गर्ने भन्ने निर्देशन भने आइसकेको अवस्था छैन । हिजो शनिबार भएको कारणले पनि निर्णय आज आउला । संक्रमणको अवस्था हेर्दा अब भीडभाड बढेको अवस्थामा संक्रमण बढ्ने नै भैहाल्यो । यसलाई कम गर्नको पुरानो अवस्था जस्तो निषेधाज्ञा तथा लकडाउन भने सायद नहोला । अब विज्ञहरु सरोकारवालाहरुसँग पनि छलफल गर्छाैँ । त्यसरी जाँदा ठिक हुन्छ कि भन्ने हो उहाँहरुको रायसुझावलाई लिएर । पछिल्लो दिनमा देशभर संक्रमण क्रमागत रुपले बढेको अवस्था छ । जिल्लागत रुपमा पनि सामान्य रुपले संकमण बढ्दै गएको छ । तर सामान्य संक्रमणको दर भएको अवस्थामा एक्कासी रुपमा संक्रमणको दर बढ्दै गयो भने हामीले पूर्वतयारी त अपनाउनु पर्छ भन्ने होला नी त । पूर्वतयारीको सन्दर्भमा पनि यस्तो छ खोपको कुराहरुलाई जति सकिन्छ विस्तार गरेर तल्लो क्षेत्रसम्म दिने कोशिस गरिरहेका छौ ।

बालबासलिकालाई पनि खोप लगाउने तयारी भइरहेको छ, हैन । पुरानो दिनमा खोप उपलब्ध हुने खोप केन्द्रको संख्या पनि थप्ने कि भन्ने कुराहरु भएको छ । हामी निश्चित रुपमा यसलाई पनि ध्यान दिएर अगाडि बढ्ने योजनामा छौँ । अर्काे कुरा हिजोका हामीसँग आइसोलेसनहरु छन् । अक्सिजन वेडको कुराहरु छ । त्यसको पनि अहिले विश्लेषण गर्ने कार्य तथ्याङ्क लिने कार्य गरिरहेका छौँ । त्यस्तो अवस्था आउन सक्छ तयारीमा बस्नुस भन्ने कुराहरु भइरहेको छ । अब केही दिनमा थप के गर्ने भनेर बैठक बसेर निर्णय गरेर सार्वजनिक गरिहाल्छौँ । तथापि संक्रमण नियन्त्रणको पूर्वतयारीमा हामी छौँ ।

‘सीसीएमसीको निर्देशन पर्खेका छौँ’

धनश्याम उपाध्याय, प्रमुख जिल्ला अधिकारी, ललितपुर

अब यसमा के छ भन्नुहुन्छ भने हामीले सुरक्षा मापदण्डहरु पालना गर्ने, सामाजिक दूरी कायम गर्नेदेखिका कुराहरु लिएर जुन स्वास्थ्य मापदण्डका पालनाका कुराहरुमा हिजोदेखि निर्देशन र कडाइ गर्दै आएका छौँ । तर पछिल्लो समयमा जनस्तरबाटै नियम पालनाको अवस्था कमजोर छ । यसलाई चाहिँ हामी पुन: स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डसँगै सीसीएमसीको निर्देशनलाई जनस्तरमा कडाइ गर्नको लागि चाँडै नै एक्सन लिने गरी हामी तयारी अवस्थामा बसेका छौँ ।

अब जनस्तरको चहलपलहलाई नियन्त्रण गर्ने किसिमले हामीले केही दिमै संक्रमणलाई बढ्न नदिने तथा संक्रमणलाई घटाउने किसिमका कार्यहरु हामी गर्न लागेका छौँ । यसैगरी सीसीएमसीमा स्मार्ट लकडाउनको कुरा पनि आएको भन्ने सुनिन्छ । तर त्यसमा हामीलाई भने कुनै आधिकारिक निर्देशन भने आइसकेको छैन । केही दिनमै पक्का त्यो निर्देशन प्राप्त होला ।

निर्देशन आएपश्चात भने हामी निर्देशनअनुसार सबै सरोकारवालासँग बसेर अगाडि बढ्ने छौँ । जिल्लागत रुपमा भन्ने हो भने ललितपुरको हकमा ग्रामीण भेगमाभन्दा सहरी भेगमा कोरोनाको बढी जोखिम रहेको छ । किनभने सामाजिक गतिविधि बढी हुने ठाउँ भनेको सहर हुने गर्दछ । त्यसकारणले गर्दा जिल्लाको जोखिमलाई कसरी नियन्त्रण न्यूनीकरण गर्ने भन्ने विषय सीसीएमसीको निर्देशन प्राप्त हुनासाथ हामी समन्वयात्मक ढंगले अगाडि बढ्छौँ । सीसीएमसीको निर्देशन बमोजिम र जनस्वास्थ्यका मापदण्ड पालन गर्ने र गराउने गरी जोखिम घटाउनको लागि के कस्ता उपायहरु अवलम्बन गरिनुपर्दछ भनेर स्वास्थ्य मन्त्रालयको हामीलाई मार्गदर्शन प्राप्त हुन्छ सोहीअनुसार अगाडि बढ्छौँ । यसरी हेर्दा जिल्लागत संक्रमणको अवस्था भने सामान्य रुपमै छ, भन्नु पर्छ तथापि एक्कासी संक्रमण बढेको खण्डमा भने हामीलाई सामान्य अवस्था भन्दा केही असजिलो पक्कै हुन्छ । त्यसकारण समग्र रुपमा यसको न्यूनीकारणमै हामीले जोड दिएका छौँ ।

‘भारतसँग जोडिएका सीमानाकामा आवश्यक कडाइ गर्नुपर्छ’

रुद्रादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी, भक्तपुर

अब यसको लागि हामीले आज नै विपतसँगै सबैलाई राखेर बैठक राखेका छौँ । हामीले अहिले जिल्लाभित्र गर्न सकिने कुराहरु स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने विषयहरु त्यसै गरेर हाम्रो स्वास्थ्य पूर्वाधारहरु तयारी अवस्थामा राख्ने लगायतका कुरामा आजको बैठकमा हामी छलफल गर्नेछौँ ।

अब सीसीएमसीको निर्णय आजसम्म आइपुग्छ होला । त्यसपछि हामी उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर जिल्ला भित्र के-के गर्न सकिन्छ साथै सरोकारवालाहरुसँग पनि के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नेछौँ । तयारी भन्ने हो भने हामी एकदमै तयारी अवस्थामा छौँ । अब लकडाउन नै गर्नुपर्ने भन्ने विषय एउटा जिल्लाले मात्र निर्णय गर्ने विषय रहँदैन । त्यसकारण सीसीएमसीबाट आएको कुरा रह्यो । हामी चाहिँ स्वास्थ्य मापदण्डको कुरालाई कडाइ गर्ने र मास्क अनिवार्य अभियान पनि सञ्चालन गर्ने र भीडभाड हुने गतिविधि नर्गनुस भनेर सूचना जारी गर्ने योजनामा रहेका छौँ ।

योसँगै खोप अभियानलाई पनि तीव्रता दिन्छौ १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेकालाई खोप लगाउन भनेर सूचना जारी गर्छाैँ । त्यसैगरी १२ देखि १७ वर्षको अहिले जुन खोप चलिरहेको छ त्यसलाई पनि हामीले प्रभावकारी रुपमा अगाडि बढाउने लगायत यी कुरामा पनि आजै छलफल हुन्छ ।

योसँगै आज साँझ या भोलिसम्म तीनवटै प्रजिअ बसेर बैठक गर्ने योजना पनि रहेको छ । तीनवटै जिल्लाका प्रजिअ बसेर के गर्ने भन्ने विषयबारे छलफल गर्नेछौँ । जिल्लागत रुपमा कोरोना संक्रमितको संख्या १५ देखि २० जना रहेको छ । तर यसलाई पनि हामी संक्रमण जोखिम बढी हुन नदिन स्वास्थ्य मापदण्ड पालना गराउने, मास्क लगाउनुका साथै संक्रमण न्यूनीकारणका विविध कुरालाई आजभाेलिदेखि नै लागू हुने गरी अभियानको ने थालनी गर्दैछौँ । योसँगै परीक्षणको दायरा पनि बढाउँदै जाने हाम्रो योजना छ किनभने परीक्षणको दायरा बढाउँदै गयो भने संक्रमणको जोखिमपनि कम हुने भएकोले यसमा पनि हाम्रो ध्यान गएको छ ।

त्यसैगरी भारतसँग जोडिएका सीमानाका क्षेत्रका जिल्लाहरुमा दिनप्रतिदिन संक्रमण बढ्दै गएको अवस्था पनि हामी माँझ रहेको छ । यसलाई मध्यनजर गरेर हेर्दा यसको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यकामा पर्ने हुन्छ । उपत्यकाभित्र रहेका तीन जिल्लामा जोखिम उच्च हुने भएकोले सीमानाका क्षेत्रमा भने निश्चित रुपमा कडाइ गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै जिल्लगत रुपमा कडाइ गर्न सक्यो भने हामी संक्रमणको दर कम गर्न सक्छौँ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट