प्रचण्ड, बाबुराम, वैद्य र विप्लवबीच आयो एकताको प्रस्ताव

काठमाडौं । अहिले राजनीतिक वृत्तमा फेरि प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्य र विप्लवसहितका नेता एकठाउँमा उभिने तयारी गरेको चर्चा पनि चलिरहेको छ ।

तर, यो कुराको पुष्टि भने हुन सकेको छैन । माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहालका सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तै संकेत गरेका छन् । उनले सबै कम्युनिष्टहरु एक हुनुपर्ने धारणा राख्दै आएका छन् ।

पूर्वमाओवादीका केन्द्रका नेता गोपाल किराँतीले सबै नेता एकैठाउँमा उभिने प्रस्तावसहितको पत्र पनि प्रचण्डसहितका नेतालाई पठाइसकेका छन् तर त्यसको जवाफ आउन नसकेको उनले बताए ।

माले र माओवादी केन्द्रबीच एकता भएपछि गोपाल किराँतीले निर्वाचन आयोगमा माओवादी केन्द्र दर्ता गराए । तर सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले विकल्पमा पार्टीको नाम र निर्वाचन चिह्न लिन बोलाएको छ ।

यसैबेलामा किराँतीले पूर्वमाओवादी केन्द्रका नेताहरुबीच एकताको प्रस्ताव राखेका हुन् ।

किराँतीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पूर्व माओवादी एक हुनका लागि पत्र पठाएका छन् ।

“हामीले प्रचण्ड, बाबुराम, वैद्य, विप्लवलाई पूर्वमाओवादी नेताहरु एकैठाउँमा उभिनुपर्छ भनेर पत्र लेखेका हौँ,” उनले भने, “हामी समाजवाद भन्छौं । वैद्य जनगणतन्त्र भन्नुहुन्छ । त्यो सबै एउटै हो त्यसैले एकता गरौँ भन्ने मेरो प्रस्ताव हो । एउटै पार्टी बनाउनुपर्छ भनेर प्रस्ताव गरेका छौँ ।”

प्रतिक्रिया

TOP