
काठमाडौं : सरकारले देशका विभिन्न भागमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सिफारिसका लागि उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि १३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ९ र पाटन स्वास्थ्य प्रतिष्ठानमा ९ जनाको नाम पहिलो चरणमा प्रकाशन गरेको हो ।
मन्त्रालयका अनुसार योग्यता, अनुभव तथा व्यावसायिक कार्य योजनासमेतको प्रारम्भिक छानविनका आधारमा नामावली सिफारिस गर्नका लागि प्रारम्भिक सूची प्रकाशन गरिएको हो ।
उपकुलपति नियुक्तिको लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएको छ ।
कार्यविधि अनुसार मान्यताप्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नात्तकोत्तर उपाधि प्राप्त गरेको, प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा एघारौँ तह वा सो सरह काम गरेको व्यक्तिले उपकुलपतिको लागि आवेदन दिन सक्ने उल्लेख छ । ३५ वर्ष ननाघेको व्यक्ति आवेदन दिनका लागि योग्य हुने छैन ।
मन्त्रालयले उपकुलपति पदका लागि फागुन २४ गते आवेदन खुलाएको थियो ।

प्रतिक्रिया