भागरथी हत्याकाण्डका दोषी भन्छन्, ‘बुबा र भाईलाई मार्ने धम्की दिएकाले मैले अपराध स्वीकार गरेको हुँ’

बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या घटनामा दोषी भनिएका दिनेश भट्टले आफ्नो परिवारलाई मार्ने धम्की दिएपछि अपराध स्वीकार गरेको बताएका छन् ।

उनले आफ्ना बुबासँगको कुराकानीमा यस्तो बताएका हुन् ।

दिपायलको एक सुधारगृहमा रहेका भट्टले आफ्नो घाँटीमा चक्कु राखेर बुबा र भाईलाई मार्ने धम्की दिएपछि अपराध स्वीकार गरेको बताए ।

उनले विद्यालयबाट फर्किने क्रममा किशोरीको हत्यामा संलग्नलाई देखेपछि आफूलाई मार्ने धम्की दिएको बताएको भट्टका बुबाले जानकारी दिए ।

‘म विद्यालयबाट फर्किने बेलामा ति अपराधीले मलाई देखे, अनि मेरो घाँटीमा चक्कु लगाएर कँही पनि यो कुरा नभन्न धम्की दिए,’सुधारगृहमा रहेका १६ वर्षीय किशोर भट्टले भनेको कुरा उद्धृत गर्दै उनका बुबा दीपक भट्टले भने, ‘उसले परिवारको चिन्ता गरेर आफूले गर्दै नगरेको अपराध कबुल गरेको हामीसँग भनेको छ ।’

अभियुक्त भट्टले भागरथीको हत्यामा दुई जना संलग्न रहेकोसमेत आफ्ना बुबासँग बताएका छन् ।

‘एक जना स्थानीय गाउँपालिकाको कर्मचारी हो । उसलाई चिनेको छ । अर्का व्यक्ति मास्क लगाएका थिए । उनलाई चाँही उसले चिनेन रे,’ सुधार गृहमा रहेका छोरासँगको कुराकानी सुनाउँदै बुबा भट्टले भने ।

बुबा भट्टले प्रहरीले सुरक्षा दिए आफू नाम सार्वजनिक गर्न तयार रहेको बताए ।

बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ मा शव फेला परेको थियो ।

भागरथीको शव लवलेक जंगलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा दिनेशलाई नियन्त्रणमा लिएको थियो । दिनेशले प्रहरीसँग अपराध स्वीकार गरेका थिए ।

प्रहरीले घटनाको १३ औ दिनमा दिनेशलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

TOP