
काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र जनलाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् । रावलले पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद भएको बताएका छन् । समाजिक सञ्जाल ट्वीटरमा रावलले केपी शर्मा ओलीको अवैध समितिबाट गरिएको स्पष्टीकरण सोध्ने निर्णयलाई आफूले पूर्णतः अस्वीकार गर्ने बताएका छन् ।
‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशो गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु,’ रावलले ट्वीटमा भनेका छन् ।
केपी शर्मा ओलीले शनिबार केन्द्रीय समिति बैठकबाट रावलसहित माधवकुमार नेपाल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
प्रतिक्रिया