
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट संसदीय दलको बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको एमाले संसदीय दलको बैठकले गुटगत भेला गर्ने सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
दलको बैठकमा बरिष्ठ नेता नेपाल खनाल समूहका सांसद अनुपस्थित थिए । नेता बामदेव गौतम भने दलको बैठकमा सहभागि थिए ।
चैत ४ र ५ गते नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।
पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले भेला रोक्न निर्देशन दिँदा पनि नेपाल समूहले भेला गरेको थियो ।
नेपाल खनाल समूहले पार्टीमा समानान्तर संरचना बनाउनुका साथै निरन्तर समानान्तर गतिविधि पनि गर्दै आएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष समूहलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
उनले राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको संज्ञा दिए ।
भेलाका आयोजना गर्ने नेपाल खनाल समूहका अगुवा नेतालाई स्पष्टिकरण सोधिने उनले बताए ।
बालुवाटारमा आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिने बताए ।
नत्र कारवाहीको प्रक्रिया अघि बढाइने अध्यक्ष ओलीले प्रष्ट पारेका छन् ।
दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भेला गरिएको भन्दै कारवाही गरिने चेतावनी दिएका थिए ।
‘उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिदा दिदै पनि कथित भेला गरिएको छ । कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारवाही गरिनेछ ।’
प्रतिक्रिया