कोरोना भाइरस : भारतमा कोभिड-१९ को दोस्रो लहर, कस्तो छ नेपालको तयारी ?

भारतमा कोरोनाभाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि त्यहाँ काम गर्न गएका नेपालीहरू स्वदेश फर्किन सक्ने सम्भावनाको आकलन गर्दै नेपाल-भारत सीमा क्षेत्रमा सतर्कता अपनाइएको नेपाली अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपाल-भारत सीमामा रहेका १३ वटा हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ।

भारतको महाराष्ट्र, गुजरात, मध्यप्रदेश आदि राज्यमा कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रम बढेको छ।

रोजगारीका लागि भारतमा ठूलो सङ्ख्यामा नेपालीहरू बसोबास गर्ने र नजिकिएको फागु पूर्णिमाका बेला सीमावर्ती क्षेत्र हुँदै आवतजावत बाक्लो हुने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने अधिकारीहरूको भनाइ छ।

कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै गत वर्षको चैत्रमा गरिएको लकडाउन यता नेपाल भारत सीमा क्षेत्रमा यात्रुहरू बोकेका सवारी साधनको आवतजावत बन्द छ।

यद्यपि अधिकांश नाकाबाट मानिसहरू हिँडेरै आवतजावत गरिरहेको बताइन्छ।

झन्डै एक वर्षदेखि रोकिएका यात्रुवाहक सवारीसाधनहरूलाई खुल्ला गर्ने गृहकार्य सरकारी निकायहरूले गरिरहेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको कुल सङ्ख्या २,७५,६२५ पुगेको छ।

बिहीवार एकैदिन नेपालमा थप १०७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ।

प्रतिक्रिया

TOP