
काठमाडौं : नेकपा एमाले केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।
दुबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ ।
संसदीय दलको बैठक बिहान १०ः३० बजे बोलाइएको छ ।
त्यसलगत्तै ११ बजे केन्द्रीय समिति बैठक बस्ने एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
बालुवाटारमा हुने पार्टी बैठकमा सहभागि नहुने बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले यसअघि नै बताइसकेका छन् ।
उनीहरुले पार्टी बैठक पार्टी कार्यालयमा हुनुपर्ने र संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा हुनुपर्ने माग गर्दै आएका छन्।
बालुवाटारमा आज बोलाइएको केन्द्रीय समिति र संसदीय दलको बैठकमा खनाल नेपाल समूह नजाने भएको हो ।
अध्यक्ष केपी शर्मा ओली समूह मात्रै सहभागि बैठकले गर्ने निर्णयहरु आफूहरुले नमान्न खनाल नेपाल समूहको भनाई छ ।
ओली समूहको फागुन २८ गते बसेको बैठकले पार्टी पदाधिकारी खारेज गर्नुका साथै नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेको थियो।
ओलीले पार्टीलाई एकलौटी रुपमा अगाडि बढाउन खोजेको भन्दै खनाल नेपाल समूह रुष्ट छ ।
केही दिनअघि खनाल नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरेर ओलीविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ।
यता ओलीले आजको बैठकमा सहभागि नहुनेलाई कारवाही गर्ने सार्वजनिक रुपमै चेतावनी दिएका छन् ।
उनले बैठकमा सहभागि हुन सबैलाई सूचना दिइसकेकाले अनुपस्थिति हुनेलाई पार्टीको विधान अनुसार कारवाही गर्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया