वर्षमान पुन सुटुक्क महन्थ ठाकुरको निवास किन गए ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न उनकै निवास पुगेको बताइएको छ ।

सत्ता सहकार्यका लागि विभिन्न दलसँग छलफल गरिरहेका जसपाका अध्यक्ष ठाकुरले शुक्रबार पुनसँग छलफल गरेका हुन् ।

पुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को दूत बनेर ठाकुर निवास कौशलटार पुगेका हुन् ।

पुन र ठाकुरको छलफलमा सत्ता सहकार्यको विषयमा कुरा भएको बुझिएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग नजिकिएको आरोप खेपिरहेका ठाकुरले शुक्रबारको पुनसँगको भेटमा पनि स्पष्ट जवाफ नदिएको बताइएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा देखिएका छन्।

तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडान छन् ।

जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनुपर्नेलगायतका माग गर्दै आइरहेको छ। तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारेमा पार्टीले निर्णय गर्ने बताउँदै आएको छ।

पछिल्लो समय ठाकुरले पार्टीमा एकलौटी ढंगले कार्यदल नै बनाएर ओलीनिकटसँग छलफल गरिसकेका छन् ।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली सरकार धरापमा छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै ओली नेतृत्वको सरका ढल्ने पक्का छ ।

त्यसो त नेकपा एमालेभित्र नै फरक पार्टीको अभ्यास सुरु भएको छ ।

प्रमुख विमक्षी दल कांग्रेसभित्र पनि ओलीलाई हटाएर सरकारको नेतृत्व कांग्रेसले गर्ने समय आएको बताउन थालिएको छ ।

प्रतिक्रिया

TOP