
काठमाडौँ । नेकपा एमाले तीन भागमा विभाजन स्पष्ट रुपमा देखिएको छ ।
अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधव नेपाल समूह त लामै समयदेखि सक्रिय छ ।
तर, अहिले राष्ट्रिय एकता अभियान नाम दिएर तटस्थ रहने प्रयास गरिरहेका वामदेव पनि गुट बनाउन सक्रिय देखिएका हुन् ।
वामदेवले नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघमा पनि समानान्तर बैठक बोलाइएको छ ।
एमाले उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले ललितपुरको धोबिघाटमा किसान महासंघको राष्ट्रिय समितिको बैठक राखेका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि गौतमले शुक्रबार महासंघको अध्यक्षको हैसियतमा बैठक राखेका हुन् ।
एमाले र माओवादीबीच एकता अगाडि गौतम महासंघका अध्यक्ष थिए ।
तर, पार्टी एकीकरण पछि भने गौतम महासंघको इन्चार्ज बनेका थिए, हरि पराजुली अध्यक्ष बनेका थिए ।
अदालतले एमालेको २ जेठ २०७५ कै पार्टी संरचना र विधान ब्युँताइदिएपछि गौतमले फेरि अध्यक्षको हैसियतमा बैठक राखेका हुन् ।
उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहले पनि अखिल नेपाल किसान महासंघको नाममा बैठक बोलाएको छ ।
ओलीले शनिबार किसान महासंघको स्थायी कमिटी र पर्सि राष्ट्रिय समितिको बैठक बोलाएका छन् ।
महासंघका पूर्वमहासचिव प्रेम दंगाललाई ओलीले अध्यक्षको जिम्मा दिएका छन् ।
‘प्रधानमन्त्री केपी ओली तर्फको महासंघको म अध्यक्ष हुँ र मेरो नेतृत्वको महासंघ वैधानिक हो’, दंगालले भने ।
यो समूहले पर्सि, ८ चैतमा नयाँ केन्द्रीय नेतृत्वको शपथ कार्यक्रमसमेत राखेको छ । बैठकलाई अध्यक्ष ओलीले नै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
ओली समूहले किसान महासंघको ४४५ सदस्यीय केन्द्रीय कमिटी र ७५ सदस्यीय स्थायी कमिटी बनाएको छ ।
दंगालका अनुसार, सबै प्रदेश र जिल्ला तहमा समेत कमिटी निर्माण भइसकेको छ ।
प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित हुँदा ओली समूहले २२ माघमै आफ्नो समूहको किसान महासंघको राष्ट्रिय भेला गरेको थियो ।
तर, अदालतले एमाले ब्युँताएपछि पनि २३ फागुन अगाडि बनेको कमिटीलाई बदर नगर्ने ओली समूहको अडान छ ।
किसान महासंघमा खनाल र नेपाल समूहले भने छुट्टै कमिटी नबनाउने भएको छ ।
अन्य जनसंगठन र भूगोलका कमिटीहरुमा भने ओली र वरिष्ठ नेताद्वय झलनाथ खनला र माधवकुमार नेपाल समूह बीच समानान्तर गतिविधि भइरहेको छ ।
प्रतिक्रिया