भारतको सहयोगमा निर्मित नुवाकोटका चारवटा विद्यालय हस्तान्तरण

काठमाडौं : भारत सरकरको सहयोगमा पुनर्निर्माण गरिएका नुवाकोटका चार विद्यालय हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चारवटै विद्यालयको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदान अन्तर्गत निर्माण गरिएका हुन् ।

उक्त समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।

नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका यी चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६ करोड ७० लाख नेपाली रुपैया रहेको भारतीय राजदूतावासले जनाएको छ ।

नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ ।

चार विद्यालयमा अध्ययनरत १८०० भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने भारत सरकारको विश्वास छ।

शिक्षाको क्षेत्रमा पुनार्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता अनुरुप नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ ।

परियोजनाबाट लाभान्वित हुने आठ जिल्लाहरु क्रमशः गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं हुन् ।

हालसम्म ८ वटा विद्यालय निर्माण भइसकेका छन् भने बाँकी ६२ वटा विद्यालयहरु निमार्णाधीन अवस्थामा छन् ।

भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिए ।

‘शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरिसकेको छ,’ उनले भने, ‘राष्ट्रको विकासमा योगदान पु¥याउन र भारत-नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको ३००० भन्दा बढी छात्रवृत्तिको लाभ लिन आग्रह गर्दछु ।’

प्रतिक्रिया

TOP