Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • कांग्रेसमा प्रभाव गुमाउँदै निधि, संकटतर्फ राजनीतिक भविष्य

    कांग्रेसमा प्रभाव गुमाउँदै निधि, संकटतर्फ राजनीतिक भविष्य

    निधिको राजनीतिक करियर यसरी धराशायी हुनुमा प्रमुख दोषी उनी आफै हुन्। नातावाद र कृपावादको घेरामा घेरिएका उनी अधिकांश कार्यकर्ताको नजरमा विस्तारै टाढिदै गएका छन्।

    आदित्य नेपाल
    पुष १० २०७८, शनिबार
    14.7K
    SHARES

    काठमाडौँ । २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा –३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोसँग पराजित भएपछि नै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिमा हारको श्रृंखला सुरु भएको हो ।

    प्रदेश दुईमै राम्रो पकड भएका मानिएका नेता निधि आफ्नै निर्वाचन क्षेत्रमा महतोसँग पराजित भएका थिए । निधिलाई उनकै गृह जिल्ला धनुषामा हराउन सहज थिएन तर उनी हारे । राजनीतिमा हार र जीत स्वभाविक हो । तर निधिकै निर्वाचन क्षेत्रमा सर्लाहीको मान्छे आएर जित्नुले नयाँ राजनैतिक तरंग पैदा गरेको थियो ।

    कांग्रेसमा मात्र नभएर, राष्ट्रिय राजनीतिकै प्रभावशाली नेता हुन् निधि । उनलाई मधेशका अन्य नेताहरुभन्दा बढि प्रभावशाली नेताका रुपमा चिनिदै आएको छ ।

    विचारमा प्रष्टता कुशल संगठक, हक्की स्वभावका साथै अन्तर्राष्ट्रिय समुदायसँग पनि सम्बन्ध रहेका निधिको अरु मधेशी नेताहरुभन्दा राजनीतिक कद उचो रहँदै आएको छ । कांग्रेसभित्र प्रभावशाली नेताका रुपमा चिनिने निधिको राजनीतिक यात्रा भने विस्तारै ओरालोतर्फ उन्मुख छ ।

    कांग्रेसको पूर्व उपसभापति र संघीय सरकारका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका निधिको राजनीतिक यात्रा २०२७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट शुरु भएको हो। उनी शेरबहादुर देउवापछि नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए । २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनःप्राप्तिपछि निधि कांग्रेसको पार्टी राजनीतिमा होमिएका थिए।

    उनी २०५१ र २०५६ सालमा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा भने धनुषा ३ बाट निर्वाचित भएका थिए ।

    २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धी महतोसँग निधि पराजित भएका थिए । विद्यार्थी र पार्टीको राजनीतिमा लाग्दा निधि पटक–पटक जेल समेत परेका हुन् ।

    निधि २०५२ सालमा देउवा नेतृत्वको सरकारमा पहिलो पटक सामान्य प्रशासन मन्त्री बनेका थिए । त्यसपछि उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसकेका छन् ।

    १४ औँ महाधिवेशनमा देउवासँग विद्रोह गरेर सभापतिको उम्मेदवार बनेका निधिले जित हासिल गर्न त सकेनन् नै, आफ्नो प्रभाव क्षेत्र भनिएको गृह प्रदेशमै पकड गुमाए ।

    प्रदेश दुईमै किन कमजोर भए निधि ?

    ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनु, कांग्रेस महाधिवेशनमा सम्मानजनक मत पनि नआउनु, प्रदेश अधिवेशनमा पनि देउवाकै वर्चश्व कायम रहनु, आफ्नै निर्वाचन क्षेत्रका नेताकार्यकर्ताले वेवास्ता गर्नुले के सन्देश दिन्छ भने अब निधिसँग बहुमत र जनमत दुई वटै रहेन । उनी केवल कांग्रेसका नेताको उपनामले मात्र चिनिने भए। पछिल्लो राजनीतिक घटनाक्रम हेर्दा उनको राजनीतिक भविष्य संकटउन्मुख देखिन्छ ।

    निधिको राजनीतिक करियर यसरी धराशायी हुनुमा प्रमुख दोषी उनी आफै हुन्। नातावाद र कृपावादको घेरामा घेरिएका उनी अधिकांश कार्यकर्ताको नजरमा विस्तारै टाढिदै गएका छन्। निधिका सल्लाहकार र नजिकका विश्वासपात्रका कारण पनि उनको छवि मधेश र देशमा धमिलो बन्दै गएको छ।

    १४औँ महाधिवेशनमा देउवासँग विद्रोह गरेर सभापतिको उम्मेदवार बनेका निधिले जित हासिल गर्न त सकेनन् नै, आफ्नो प्रभाव क्षेत्र भनिएको गृह प्रदेशमै पकड गुमाए ।

    कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेश २ का सभापति र पदाधिकारी चयनका लागि बिहीवार मतदान भएको थियो । प्रदेशको सभापतिका लागि संस्थापन समूहबाट रौतहटका पार्टी सभापति कृष्णप्रसाद यादव उम्मेदवार थिए भने केन्द्रीय महाधिवेशनमा देउवासँग पराजित भएका डा शेखर कोइरालाको समर्थनमा निधिका उम्मेदवार रामसरोज यादव प्रतिस्पर्धामा थिए । मतदानको पाँच दिन अघि नै देखि निधि जनकपुर पुगेर आफ्ना उम्मेदवार राम सरोज यादवका लागि मत मागेका थिए।

    त्यसैगरी देउवा पक्षबाट पनि गृहमन्त्री बालकृष्ण खाँण पनि तीन दिन जनकपुरमा डेरा जमाएर बसे । दुबै पक्षले प्रतिष्ठाको विषय बनाएको प्रदेश अधिवेशनका क्रममा झडपको अवस्था सिर्जना भयो । झडपमा परेर दुबै पक्षका केही कार्यकर्ता घाइते भए । निर्वाचन परिणाम संस्थापन पक्षमा आयो ।

    प्रदेश सभापतिसहित पदाधिकारीमा संस्थापन पक्षको क्लिनस्वीप भयो । केन्द्रमा सभापति पदमा पराजित भएका निधिले आफ्नै गृहप्रदेशको नेतृत्व पनि गुमाए । देउवाविरुद्ध मोर्चाबन्दी गरेर प्रदेशमा आफ्नो प्रभाव कायमै राख्ने निधि प्रयास सफल हुन सकेन ।

    १४ औं महाधिवेशनमा देउवाविरुद्ध सभापतिको उम्मेदवारी दिने घोषणा गरेपछि पार्टी राजनीतिमा क्रमस कमजोर बनेका निधिको प्रभाव झन् घट्दो छ । प्रदेशमा पनि कमजोर देखिएका निधिलाई जिल्ला अधिवेशन थप पेचिलो बन्ने निश्चित छ । प्रदेश दुईका आठ वटै जिल्लामा जिल्ला अधिवेशन भएको छैन ।

    केन्द्रीय महाधिवेशनमा मतदाता चयन गर्न क्षेत्रीय अधिवेशन सम्पन्न भएपनि जिल्ला अधिवेशन हुन सकेको छैन । निधिकै पहलमा धनुषामा क्षेत्रीय अधिवेशन भने सर्वसम्मत भएको थियो ।

    तर जिल्लामा सर्वसम्मतको स्थिति नरहेको नेताहरु बताउँछन्। धनुषाकै कांग्रेस नेता महेन्द्र यादव कांग्रेस सहमहामन्त्री बनिसकेका छन् । धनुषाकै अर्का नेता आनन्दप्रसाद ढुंगानाले पनि निधिको साथ छोडेका छन् । उनी देउवासँगै छन् ।

    निधिको ओरालो राजनीतिक यात्रा

    २०५७ सालमा पोखरामा सम्पन्न कांग्रेसको १० औं महाधिवेशनमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिन रामचन्द्र पौडेलले नमानेपछि कृष्णप्रसाद भट्टराई पक्षले देउवालाई सभापतिमा उठाउने निर्णय गर्यो। त्यसमा देउवा र निधि एउटै समूहमा थिए ।

    पार्टीभित्र र बाहिर देउवालाई अप्ठ्यारो पर्दा निधिले सधैँ साथ दिँदै आएको कांग्रेसी नेताहरु बताउँछन् । २०५९ सालमा देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गर्दा निधिको बलियो साथ थियो ।

    देउवासँगको साढे दुई दशक लामो सम्बन्धमा पूर्णविराम लगाउँदै निधि महाधिवेशनको संघारमा अघि बढे । सभापतिमा दोहोरिने तयारी गरको देउवालाई निधिको उम्मेदवारीले चुनौति हुने अनुमान गरिएको थियो । त्यसमा पनि ८ सय भन्दा बढि मतदाता रहेको प्रदेश २ बाटै निधिले देउवाको मत काट्ने चर्चा कांग्रेसमा थियो ।

    कांग्रेसको महामन्त्री जस्तो पदमा गगन थापा र विश्वप्रकाश शर्माको पुस्ता आइसकेपछि निधि अब कांग्रेसको सभापतिमा देखिनु सहज छैन ।

    विगतमा देउवा समूहमा रहेर पार्टी सत्ता र राज्यसत्तामा प्रभावशाली भूमिकामा रहेका नेता निधि १४ औं महाधिवेशनमा देउवाविरुद्ध उभिएपछि कमजोर बनेका हुन् । त्यसमा पनि प्रदेश दुईको अधिवेशनले निधिलाई थप कमजोर बनाएको छ ।

    पार्टी महाधिवेशनमा पराजित निधिलाई एक वर्षपछि हुने संघीय निर्वाचनमा जित्नै पर्ने दवाव छ । महाधिवेशनसँगै ओरालो लागेको राजनीतिक यात्रालाई निधिले कसरी सम्हाल्छन्, त्यो हेर्न बाँकी छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend