१५ दिनमै बढ्यो हवाई भाडा, न्यूनतम १५ देखि ९० रुपैयाँसम्म बृद्धि

काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।

वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।

सङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ ।

निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ ।

सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी ९० र कम्तीमा छोटो दूरीमा १५ रुपैयाँ भाडा बढेको छ ।

काठमाडौँ–धनगढी गन्तव्यमा ९०, काठमाडौँ–भद्रपुरमा ६० भाडा बढेको छ भने पर्वतीय उडानमा ७० बढेको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।

बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।

प्रतिक्रिया

TOP