प्रधानमन्त्रीलाई खाणको प्रश्न : छातिमा हात राखेर भन्नुस्, के सरकार अग्रगमनकै बाटोमा छ?

काठमाडौं : नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सरकार संविधानप्रति सुरुदेखि नै पूर्वाग्रही बनेको आरोप लगाएका छन् ।

उनले संविधानको मर्म, भावनाविपरीत सरकारले काम गर्दै आएको दावी गरे ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख सचेतक खाणले नागरिकका अधिकारहरु कुण्ठित गर्ने काम सरकारबाट हुँदै आएको बताए ।

संविधानले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारसँगै गोपनीयतासम्बन्धी अधिकारलाई सुरक्षित गरेको उल्लेख गरे ।

उनले भने, ‘तर सरकार बनेदेखि नै नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी एकपछि अर्का विधेयक ल्याउने काम भयो । सार्वजनिक ठाउँमा निषेधाज्ञा जारी गर्ने काम भयो ।’

संसदबाट प्रधानमन्त्री भाग्न खोजेको दावी गरे ।

यसअघि भूमिगत शैलीमा संसद बैठक स्थगन गरेको उल्लेख गर्दै उनले भने, ‘तर हठात कुनै छलफल बिनै बैठक रोकियो । त्यसपछि झण्डै ६ महिना बैठक बोलाइएन । अब त ६ महिना पुग्न एक साता पनि बाँकी छैन । संसद बैठक बोलाउनुहुन्छ होला भनेको संसद नै विघटन गरियो ।’

प्रतिक्रिया

TOP