जबरजस्ती करणीको मुद्दामा सेटिङ : १२ लाख रुपैयाँसहित पोखरामा वकिल पक्राउ

काठमाडौँ । कास्की प्रहरीले बिहीबार अधिवक्ता लक्ष्मी घिमिरेलाई पक्राउ गरेको छ । ओम ल फर्मका सञ्चालक घिमिरेले जबरजस्ती करणीको मुद्दा मिलाउनको लागि लिएको रकमसहित प्रहरीले उनलाई प्रक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १२ लाखको चेक र एक लाख १० हजार नगद बरामद् गरेको छ।

घिमिरेलाई बिहीबार नै जिल्ला अदालत कास्कीबाट चार दिनका लागि म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ।पोखराकै १७ वर्षीया बालिकामाथि पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा ५७ वर्षीय पुरुष १९ दिनअघि पक्राउ परेका थिए।

कहिले लेकसाइडका होटेल त कहिले पामेतिर लगेर बारम्बार करणी गरेको आरोपसहित बालिकाले दिएको उजुरीका आधार ती पुरुष पक्राउ परेका हुन्।पक्राउ परेका ती पुरुषकी पत्नीलाई भेटेर मुद्दा मिलाइदिने भन्दै दुईजनाले यसअघि नै केही रकम असुली गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धान गरेर फाइल तयार गरिरहेकै बेला मुद्दा मिलाइदिने भन्दै पीडितका आफन्तलाई फकाउन लागिपरेका दुईजनालाई पीडितकै उजुरीका आधारमा फागुन १९ गते पक्राउ गरिएको थियो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ बस्ने ५८ वर्षीय सूर्यलाल खड्का र धादिङ गंगाजमुना गाउँपालिका–१ घर भई पोखराको हेमजा बस्ने ३९ वर्षका कमन भनिने कमानबहादुर तामाङ हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार जबर्जस्ती करणी मुद्दाका पक्षलाई उनीहरूले ‘प्रहरी, वकिल र अदालतसँग सेटिङ छ, एक करोड रकम दिए मिलाई दिन्छु, नत्र १५ वर्ष जेल जान्छ’ भनी धम्क्याई झुटा आश्वासन दिएर केही रकमसमेत असुली गरेका थिए।

उनीहरू दुवैजनालाई फागुन १९ गते पक्राउ गरेर ठगीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।आखिर यी दुईजनाले यो आँट कहाँबाट पाए ? प्रहरी अनुसन्धानको सुई अधिवक्ता लक्ष्मीप्रसाद घिमिरेतिर तेर्सियो। प्रहरीले घिमिरेका गतिविधिमाथि निगरानी गरिरहेको थियो। बिहीबार भने प्रहरीले चेक र नगदसहित उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

TOP