
काठमाडौँ । नेकपा एमाले लगभग विभाजन जस्तै छ । झलनाथ खनाल र माधव नेपाल समूहले राष्ट्रिय भेला गरेपछि अध्यक्ष केपी ओलीले कारबाही गर्ने चेतावनी दिए ।
त्यसको भोलिपल्टै खनाल–नेपाल समूहले कारबाही गर्न चुनौती दिँदै उल्टै ओलीलाई धुलो चटाउने चेतावनी दियो ।
बुधबार र बिहीबार काठमाडौँमा चलेको भेलामा नेता नेपालले यस्तो चेतावनी दिएका हुन् ।
‘जनप्रतिनिधिबाट कारबाही शुरू गर्न सक्छन् । माथिबाटै शुरू गर्न सक्छन् पहिला हाम्रो टाउको अचानोमा राख्न तयार छौं । घाँटी छिनाए पनि हाम्रो शीर ठडिरहन्छ केपी ओलीलाई चुनौती दिइरहन्छौं,’ नेपालले भने, ‘उनको लिस्टबाट हाम्रो नामहरू हट्ला । तर, कम्युनिष्ट आन्दोलनबाट हटाउने शक्ति पनि छैन सम्भव पनि छैन । मैदान छाडेर हामी भाग्नेवाला छैनौं । पार्टी बनाएर आएका छौं । आन्दोलन उठाएर आएका छौं । फेरि पार्टी बनाउँछौं । आन्दोलन उठाएर लान्छौं । केपी ओलीलाई धुलो चटाउँछौ ।’
एकताअघिकै अवस्थामा एमाले फर्किनुपर्ने आफूहरूको बटमलाइन भएको भन्दै नेपालले त्यसमा कुनै हालतमा नझुक्ने दाबी गरे ।
प्रतिक्रिया