
नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।
बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो ।
भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ ।
नेकपा एमालेको नेपाल समुहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको नेकपा (एमाले) का नेता योगेश भट्टराईले बताए ।
उनले भने, ‘यो भेलाले नवौँ राष्ट्रिय महाधिवेशन, जुन २०७१ साल साउनमा सम्पन्न भएको थियो ।
त्यो नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद त्यो जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडी बढ्ने जुन नवौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा हो ।’
त्यो कार्यदिशालाई भेलाले फेरि एकपटक पुनःपुष्टि गरेको उनको भनाइ छ
‘हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सहि ढंगले पक्रिन सक्नुभएको छैन । ३ वर्षको सरकार सञ्चालनको क्रममा ३ वटा नीति तथा कार्यक्रम जो संसदमा प्रस्तुत भए , बजेटहरु प्रस्तुत भए ति नीति, कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र पार्टीको बहुदलीय जनवादको यो नीति जसले समाजवादी दिशामा अघि बढ्ने नीति लिएको छ । त्यो नीतिमा उहाँले राम्रो ढंगले काम गर्न सक्नुभएन त्यसैले यो भेलाले त्यो पार्टीको नवौँ महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडी बढ्ने ,’ उनले भने ।
सर्वोच्च अदालतले नेकपा (एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ २ गते कायम रहेका पार्टीका सम्पूर्ण कमिटीहरूलाई सक्रिय बनाउने निर्णय पनि गरेको छ ।
अध्यक्ष ओलीले षडयन्त्र गरेको भन्दै नेता भट्टराईले अध्यक्ष ओलीले त्यसपछि बनाएको कुनैपनि पार्टी कमिटीलाई स्वीकार नगर्ने निर्णय गरेको पनि बताए ।
उनले भने, ‘फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट हाम्रो पार्टीको एकता भंग भइसकेपछि नेकपा एमाले पुरानो अवस्थामा फर्केको छ । २०७५ साल जेठ २ गते सम्म कायम भएका सम्पूर्ण पार्टी कमिटीहरु, जनवर्गीय संगठनहरु, पेशागत संगठनहरु, पार्टीका केन्द्रीय विभाग, सम्पर्क मञ्च लगायत सम्पूर्ण ०७५ साल जेठ २ गतेका कमिटीहरूलाई सक्रिय बनाउने, र ति कमिटीलाई अगाडी बढाउने निष्कर्ष हामिले निकालेका छौँ । त्यसमा पार्टी अध्यक्ष केपी ओलीको समूहबाट त्यसमाथि षडयन्त्र हुँदैछ । हामी ति कमिटीहरूको बदलामा ०७५ साल जेठ २ गते कायम भएका कमिटीहरूको बदलामा बनाइएका अर्का कुनैपनि संरचनाहरूलाई हामी स्वीकार्दैनौँ ।’
भेलाले देशभरका पार्टी कमिटीलाई भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।
जनवर्गीय संगठनहरुको राष्ट्रिय भेला आयोजना गर्ने तथा आगामी तीन महिना संगठन परिचालन गरिने पनि नेता भट्टराईले जानकारी दिए ।
उनले भने, ‘०७५ जेठ २ गतेको संरचनालाई क्रियाशिल बनाउँदै जनताको बहुदलीय जनवादको कार्यदिशालाई बलियोसँग कार्यान्वयन गर्दै अब हामी देशभरी पार्टीका भेला, बैठक, प्रशिक्षण, अभियानहरू सञ्चालन गर्छौँ । यो भेलाका सहभागीहरुलाई, देशभरका पार्टी कमिटीहरूलाई निर्देशन गरेको छ । र जनसंगठनहरुका राष्ट्रिय भेलादेखि जिल्ला र प्रदेशका भेलाहरु पनि अब धमाधम आयोजना गरिनेछ र आगामी दुई, तीन महिना हामी व्यापक रुपमा संगठनको परिचालन, प्रशिक्षण, भेलाहरु र अहिले पार्टीभित्र उत्पन्न भएको परिस्थितिको बारेमा आम कार्यकर्तालाई बुझाउन यो अभियान हामी सञ्चालन गर्छौँ ।’
राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टीको पुनस्गठन अभियान शुरु भएको बताए । ओलीले आफूहरुसँग सल्लाह नगर्ने एकलकाँटे शैली लिएर पार्टी विभाजनमा उद्यत रहेको उनको भनाई छ ।
आफूहरु २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटी बैठकमा जाने भएपनि ओलीले अवैधानिक रुपमा थपेर विस्तार गरिएको फागुन ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा नजाने पनि उनले स्पष्ट पारे ।
ओलीले फागुन २८ गते गरेका निर्णय फिर्ता नलिए अन्तरसङ्घर्ष जारी राख्ने उनको भनाई छ । आफूहरु पार्टी एकताको पक्षमा रहेकाले आफ्नो तर्फबाट पार्टी विभाजनको घोषणा नहुने पनि उनले बताए ।
प्रतिक्रिया