कोइरालाको निधनमा कांग्रेस प्रमुख सचेतक खाणले भने : पार्टीलाई अपूरणीय क्षति

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले नेता अशोक कोइरालाको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेका पूर्वसांसद कोइरालाको निधनले आफू स्तब्ध बनेको खाणले बताए ।

कोइरालाको गएराति निधन भएको हो । उनी कांग्रेस मोरङका पूर्व जिल्ला सभापति, संविधान सभा सदस्य, राष्ट्रिय सभा सदस्य भइसकेका थिए ।

प्रमुख सचेतक खाणले बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे ।

‘उहाँले नेपालमा भएका हरेक लोकतान्त्रिक आदोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय रहँदा करिब १ वर्ष भूमिगत र ७ वर्ष बन्दीजीवन व्यतित गर्नु भएको थियो ।’

कोइरालाको जन्म विस २००४ साल विराटनगरमा भएको हो । उनी कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाई हुन् ।

उनी २०४९ सालमा विराटनगर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।

त्यस्तै २०५८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए भने २०६२/६३ साल पछि पुनर्स्थापित संसदको सदस्य र २०७० सालमा संविधान सभा सदस्य बनेका थिए ।

प्रतिक्रिया

TOP