गुट भेलामा सहभागिलाई कारवाही गर्ने एमाले संसदीय दलको निर्णय

काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएको छ ।

आज बालुवाटारमा बसेको दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको हो ।

पार्टीको निर्णयविपरीत भेला आयोजना गर्ने वा निर्णय नमान्नेलाई कारवाही गर्ने चेतावनी बठैठकले दिएको छ ।

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहले बुधबार र बिहीबार दुई दिन ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरेको हो ।

कार्यकर्ता भेला रोक्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आग्रह अस्वीकार गर्दै नेपाल समूहले भेला बोलाएको थियो ।

आज ओलीले संसदीय दलको बैठक बोलाएर गुटगत भेला नगर्न र नजान पार्टीका नेताहरुलाई निर्देशन दिएका हुन् ।

गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले भने ।

दलको बैठकमा नेपाल समूहका सांसदहरु भने अनुपस्थित थिए ।

प्रतिक्रिया

TOP