ओली समूहका भनिएका कर्णालीका उद्योगमन्त्री बुढा पनि नेपाल समूहमै

काठमाडौँ । नेकपा एमालेको विवादको छर्काे प्रदेश सरकारमा पनि देखिएको छ । त्यसको असर हिजो कर्णाली सरकारमा स्पष्ट रुपमा देखियो ।

एमालेका दुई समूह माओवादी केन्द्रबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वकोको कर्णाली सरकारका पक्ष र विपक्षमा देखिएको छ ।

बुधबार दिउँसो एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले कर्णाली सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

तर माधव नेपाल पक्षका सांसदले समर्थन यथावत् रहेको र ओली गुटको भेलाले गरेको निर्णय मान्य नहुने बताएका छन्।

कर्णालीका अर्थमन्त्री प्रकाश ज्वालाले सरकारलाई आफूहरूको समर्थन कायम रहेको बताइसकेका छन् भने उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पनि त्यस्तै प्रतिक्रिया दिएका छन्।

यसअघि उनी बुधबार ओली पक्षमा खुलिसकेको कुरा बाहिर आएको थियो। तर संसदीय दलको बैठकमा सहभागी भएका थिएनन्।

बुधबार राति भने सामाजिक सञ्जालमार्फत उनले नेपाल पक्षमा लागेको जनाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘माफ गर्नुहोला ! मृत्यु पत्रमा हस्ताक्षर गर्न सकिएन। नेकपा एमाले जिन्दावाद। कर्णाली प्रदेश सरकार जिन्दावाद।’

प्रतिक्रिया

TOP