
काठमाडौँ । तान्जनियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षका राष्ट्रपति जोनको निधन भएको उपराष्ट्रपतिले बताएकी हुन् ।
राष्ट्रपति जोनको बुधबार मुटु सम्बन्धी समस्याका कारण अस्पतालमा निधन भएको उपराष्ट्रपति सामिया सुलुहु हसनले टेलिभिजन सम्बोधन मार्फत बताएकी हुन् ।
मागुफुली पछिल्लो दुई हप्ता भन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न हल्लाहरु फैलिएका थिए ।
गएको हप्ता विपक्षी दलका नेताहरुले मागुफुली कोरोना भाइरसबाट संक्रमित भएको बताएका थिए । तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।
मागुफुली कोरोना भाइरसलाई लिएर शंका व्यक्त गर्नेमा अफ्रिकाका प्रमुख व्यक्तिमा थिए । उनले कोरोना भाइरसबाट जोगिनका लागि प्राथर्ना गर्ने र आयुर्वेद औषधि खाए हुने बताउने गर्थे ।
उपराष्ट्रपति हसनले राष्ट्रपति मागुफुलीको निधनको जानकारी दिँदै १४ दिने राष्ट्रिय शोकको घोषणा गरेकी छन् ।
तान्जनियाको संविधान अनुसार हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छिन् । उनले मागुफुलीको कार्यकालको बाँकी समय राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छिन् । मागुफुलीको पाँच वर्षे कार्यकाल गएको वर्ष सुरु भएको थियो ।
प्रतिक्रिया