दलको नेता छान्न जसपामा सकस : महन्थ भए ओली सरकार टिक्ने, अरु भए कांग्रेस सरकार बन्ने ?

काठमाडौँ । सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि जसपा केपी ओली नेतृत्वको सरकार टिकाउन वा नयाँ सरकार बन्न निर्णायक देखिएको छ ।

तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेपनि यी दलबीचको एकताले अझै अन्तिम रुप पाउन सकेको छैन ।

दलको अन्य संगठनसँगै संसदीय दलमा पनि यी दुई पार्टी एक भइसकेका छैनन् ।
अहिले जसपा यही एकता प्रक्रिया टुंग्याउन प्रयासरत छ ।

अहिले जसपामा पूर्वराजपावाला नेताहरू सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक देखिएका छन् भने पूर्वसमाजवादी पार्टीका नेताहरू विपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग नजिक देखिएका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतो ओलीको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई कांग्रेस र माओवादी नजिक देखिएका छन् ।

ओलीको प्रयास जसपालाई फकाएर वा फुटाए आफ्नोतर्फ ल्याएर माओवादी केन्द्र निस्किए पनि सरकारको नेतृत्व गरिरहने भन्‍ने नै छ ।

यही कारण पनि दलको नेता को बन्छ भन्‍ने विषयले सत्ता समीकरण कस्तो बन्छ भन्‍ने निर्धारण गर्ने प्रायः निश्‍चित रहेको जसपाका नेताहरू बताउँछन् ।

यो विषयमा अध्यक्ष द्वय ठाकुर र यादव बोल्न चाहँदैनन् । अन्य माथिल्ला नेताहरू छलफल भइरहेको मात्र बताउँछन् ।

ठाकुर संसदीय दलको नेता भएको अवस्थामा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने आँकलन गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओली र ठाकुर नजिकिएका छन् । उनीहरुले पटकपटक वार्ता गरिसकेका छन् ।

त्यस्तै यादव र भट्टराई दलको नेता बनेको खण्डमा नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने सम्भावना छ ।

जसपा यतिबेला सत्तामा जानका लागि आफ्ना संविधानसँग जोडिएका माग र आफ्नो नेता तथा कार्यकर्ता छुटाउने मागमा लागि परेका छन् ।

अहिले प्रतिनिधि सभामा जसपाको ३४ सिट छ । त्यो मध्य हरिनारायण रौनियार (समाजवादी पार्टी) र रेशम चौधरी (राजपा) निलम्बनमा छन् । बाँकी ३२ सिटमा राजपाको १६ र समाजवादी पार्टीको १६ सांसद संख्या छ ।

यसबाट स्पष्ट के हुन्छ भने एमालेका असन्तुष्ट पक्ष ओलीसँगै रहेमा जसपा फुटेर जाँदा पनि ओलीलाई बहुमत पुग्छ ।

उता माओवादी केन्द्रले पनि तत्काल अन्य दलको नेतृत्वमा सरकार बन्ने वातावरण नबनेको भन्दै समर्थन फिर्ता लिएको छैन ।

उता कर्णालीमा माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन एमालेको ओली समूहले फिर्ता लिएसँगै केन्द्रमा त्यसको प्रभाव पर्ने देखिन्छ ।

माओवादी केन्द्रले केन्द्रमा ओली सरकारको समर्थन फिर्ता लिए ओलीले संसदमा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

त्यसको लागि ओलीले माओवादी केन्द्र, एमालेकै माधव नेपाल समूह बाहेक बहुमत जुटाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

TOP