
काठमाडौँ । बुधबार भारतमा कोरोना भाइरसबाट थप २८ हजार ९०३ मानिसहरु संक्रमित भएका छन् जुन तीन महिनाकै उच्च तथ्याङ्क भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै एकैदिनमा देशभर मृत्यु हुनेको सङ्ख्या पनि १८८ पुगेको हो । भारत अमेरिका र ब्राजिलपछिको दोस्रो सबैभन्दा ठूलो संक्रमण दर भएको देश हो ।
यस्तोमा बुधबारको बैठकपछि प्रधानमन्त्री मोदीले कोभिडको दोस्रो लहर उच्च बिन्दुमा पुग्नबाट रोक्नका लागि तुरुन्तै प्रभावकारी कदम उठाउनुपर्ने बताएका हुन् । देशव्यापी रुपमा संक्रमण फेरि तीव्र बन्न सक्नेमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
पछिल्लो २४ घण्टामा फेला परेका ६२ प्रतिशत नयाँ संक्रमण पश्चिमी स्टेट महाराष्ट्रमा भएको बताइएको छ । यही कारण महाराष्ट्र सरकारले मार्च १५ देखि कार्यान्वयन हुनेगरी विभिन्न शहरहरुमा आंशिक लकडाउन र कफ्र्यु जारी गराइरहेको छ ।
अहिले पुनेमा राति ११ बजेदेखि ६ बजेसम्मका लागि कफ्र्यु घोषणा गरिएको छ । जिल्ला प्रशासनले यसअघि त्यहाँ मार्च ३१ सम्मका लागि सबै स्कुल कलेजहरु बन्द गर्न निर्देशन दिएको थियो । सोमबार वार्दामा पनि आधिकारिक निकायले रातिको ८ बजेदेखि बिहान ८ बजेसम्म कफ्र्यु लगाएको हो । उता नासिकमा चाहिँ बेलुकी सात बजेदेखि नै कफ्र्यु तोकिएको छ । विवाह लगायत समारोहमा पनि २५–३० जना भन्दा बढी सहभागी नहुन भनिएको छ ।
महाराष्ट्र बाहेक मध्य प्रदेशमा पनि मुख्यमन्त्री शिवाज शिंह चौहानले इन्दोर अनि भोपालमा रातिको कफ्र्यु जारी हुने घोषणा गरेका हुन् । त्यहाँ सार्वजानिक रुपमा होली मनाउन पनि अनुमति दिइएको छैन । गुजरातमा पनि कोरोना संक्रमण बढ्न थालेपछि रातिको कफ्र्यु जारी गरिएको छ । पन्जाबमा भने कूल ८ वटा जिल्लामा रातिको कफ्र्यु जारी गरिएको छ र सरकारी अनि निजी विद्यालयहरु पनि अस्थायी रुपमा बन्द गर्न भनिएको छ । एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया