एमाले केन्द्रको विवाद कर्णालीमा देखियो, गुटगत निर्णय मान्दैनौं : प्रकाश ज्वाला

सुर्खेत : कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन नेकपा एमाले संसदीय दलको निर्णय आफूहरुले नमान्ने माधव नेपाल पक्षले जनाएको छ ।

ओली समूहले गुटगत निर्णय गरेको भन्दै नेपाल समूहका नेता एवं प्रदेशमन्त्री प्रकाश ज्वालाले सरकारलाई समर्थन यथावत रहेको बताए ।

ओली समूहले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक राखेर बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माधव नेपाल पक्षले त्यसप्रति असहमति जनाएको छ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले ओली समूहको निर्णयपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुटगत निर्णय आधिकारिक नभएको स्पष्ट पारेका छन्।

उनले प्रदेशसभा दलको नाममा गुटगत बैठकबाट गरिएको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै आफूहरुको तर्फबाट सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका छन्।

४० सदस्यीय प्रदेश सभामा एमालेका २० जना सांसद छन् । तर आज बसेको संसदीय दलको बैठकमा १० जना मात्रै उपस्थित भएका थिए।

प्रदेश सभामा नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् । खनाल नेपाल समूहले समर्थन गर्दा मुख्यमन्त्रीसँग २२ जना सांसद हुनेछन् । प्रदेशसभामा बहुमतका लागि २० सांसद चाहिन्छ ।

प्रतिक्रिया

TOP