
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।
ललितपुरको सम्पदा गार्डेनमा भेला सुरु भएको हो । भेलालाई शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।
भेलाको अध्यक्षता नेता झलनाथ खनालले गरेका छन् ।
भेलामा एमालेका ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुको उपस्थिति रहेको छ।
यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो।
सर्वोच्चको फैसलापछि केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको यो समूहको आरोप छ।
दुई दिन सञ्चालन हुने भेलामा देशभरबाट कार्यकर्ताहरु सहभागि भएका छन् भने कम्यूनिष्ट पार्टीका शीर्ष नेताहरु पनि भेलामा उपस्थित छन् ।
भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको नेता बिष्णु रिजालले जानकारी दिए ।
भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरु लगाएत सहभागी रहेको जनाइएको छ ।
कार्यकर्ता भेला रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
त्यस्तै महासचिव इश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै भेलामा सहभागि नहुन कार्यकर्तालाई निर्देशन दिनुका साथै सहभागि हुनेलाई कारवाही गरिने चेतावनी पनि दिएका छन् ।
प्रतिक्रिया