
पेरिस : रियल म्याड्रिड र म्यानचेस्टर सिटीले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।
स्पेनी महारथी रियलले एटलान्टालाई अन्तिम १६ को दोस्रो लेगमा ३-१ ले हराउँदै समग्रमा ४-१ को अग्रता लिन सफल रह्यो ।
पछिल्ला तीन सिजनमा रियल अन्तिम आठमा पुगेको यो पहिलोपल्ट हो । उसको पछिल्लो जितमा करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सोले एकएक गोल गरे ।
सिरी ए टिम एटलान्टाका तर्फबाट लुइस मुरियलले एक गोल फर्काए ।
अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब सिटीले जर्मन प्रतिद्वन्द्वी मुन्छेनग्लाडबाखलाई दोस्रो लेगमा २-० ले हराएर समग्रमा ४-० को अग्रता लियो ।
दोस्रो लेगमा केभिन डे ब्रुन र इलकयी गुन्डोगनले गोल गरे ।
सिटी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार चौथो सिजन हो ।
प्रतिक्रिया