आज शितलनिवासमा सर्वदलीय बैठक, के होला राष्ट्रपतिको सन्देश ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए।

उनका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न शितल निवासमा सर्वदलीय बैठक बोलाइएको उनले बताए।

संघीय संसद्मा नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि ओली सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपा मिलेर सरकार गठनको चर्चा भइरहेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

एमाले पार्टी नै विभाजनको जोखिमबाट गुज्रिरहेको छ ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

साथै उनले सरकारले विवादास्पद अध्यादेश ल्याउँदा पनि स्वीकृत गर्दै आएकी छन् ।

राष्ट्रपतिबाटै संविधानको उल्लंघन हुने काम बारम्बार भएको भन्दै उनको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

TOP