
काठमाडौं : आज प्रतिनिधि सभा बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।
हिउँदे अधिवेशनको तेस्रो बैठकमा कुनै महत्वपूर्ण कार्यसूची छैन ।
संसद सचिवालयका अनुसार शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यक्रम मात्रै छ । संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
२०७० सालको संविधान सभा निर्वाचनमा नेकपा एमालेकातर्फबाट बाँके क्षेत्र नं. २ बाट यादव निर्वाचित भएका थिए। उनी खानेपानी तथा सरसफाई राज्यमन्त्री पनि बनेका थिए ।
यादवको ७५ वर्षको उमेरमा माघ १ गते निधन भएको थियो ।
प्रतिपक्षी दलहरुले सरकारले संसदलाई विजिनेसविहीन बनाउन खोजेको आरोप लगाएका छन् ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकार र सत्तारुढ दलको प्रस्तुतिले सरकार संसदप्रति जिम्मेवार नदेखिएको प्रतिपक्षी दलको आरोप छ ।
अन्य दलहरुले दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राख्न आग्रह गरेका थिए । तर सरकारका प्रतिनिधिले भने त्यसलाई अस्वीकार गरे ।
कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले संसदलाई सरकारले विजिनेसविहीन बनाउन खोजेको आरोप लगाए ।
संसदलाई प्रभावकारी बनाउन सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै खाँणले वर्तमान सरकार भने संसदलाई विजिनेसविहीन बनाउन चाहेको दावी गरे ।
उनले भने, ‘सरकारको व्यवहार हेर्दा संसद्लाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउन नखोजिरहेको प्रष्ट हुन्छ ।’
उनले थपे, संसदलाई विजिनेस दिने काम त सरकारको हो नि, तर उ संसदलाई भूमिकाविहीन बनाउन चाहिरहेको छ ।’

प्रतिक्रिया