
काठमाडौं : नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाक्रीले एमाले विभाजन निश्चित जस्तै देखिएको बताएकी छन् ।
उनले एमाले एउटै हुने सम्भावना नरहेको प्रष्ट पारिन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनताको जनादेशविपरीत संसद र पार्टी एकता भंग गरेर मुलुकमा अस्थिरता ल्याउन खोजेको आरोप लगाइन् ।
‘आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो ।’
पार्टीभित्रको विवाद मिलाउन नेतृत्व तहमा सुरु भएको संवादलाई भने उनले सकारात्मक भनेकी छन् ।
उनले एमाले पार्टीलाई एकतावद्ध बनाउने आधार सर्वाेच्चको फैसला भएको उल्लेख गर्दै पार्टी एकता अघिको अवस्थामा फर्किनुपर्ने बताइन् ।
‘तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ। नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो। त्यसले भनेको छ, नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अवस्था हो।’
नेतृ झाक्रीले २०७५ जेठ ३ पछि भएका सबै निर्णयलाई शून्य मानेर अगाडि बढे पार्टी एकता सम्भव हुने बताइन् ।
प्रतिक्रिया