आइतबार, माघ ९ २०७८

पीसीआरको नक्कली रिपोर्ट बनाउने गंगालाल अस्पतालका प्रयोगशाला प्रमुख जागिरबाट बर्खास्त

पीसीआरको नक्कली रिपोर्ट बनाउने गंगालाल अस्पतालका प्रयोगशाला प्रमुख जागिरबाट बर्खास्त


Nepal Manch
मंसिर २० २०७८, सोमबार

काठमाडौं । कोभिड-१९ को पीसीआर परीक्षणको नक्कली रिपोर्ट बनाएर रकम असुल्ने शहीद गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्निसियन सेवाबाट बर्खास्त भएका छन्।

गंगालाल हृदय केन्द्रका प्रयोगशाला प्रमुख समेत रहेका विनोदकुमार यादवले पिसिआरको नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याड दुरुपयोग गर्ने, बिना परीक्षण रिपोर्ट निकाल्ने गरेको पाइएपछि आइतबारबाट लागू हुने गरी केन्द्रबाट हटाइएको हो।

यादवले गत बैशाख महिनातिर नक्कली पीसीआर रिपोर्ट बनाई बिक्री गरेको आरोप लागेको थियो । उहाँले नक्कली रिपोर्ट बनाएर बिक्री गरेको पुष्टि भएपछि शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र सञ्चालक समितिको २८ साउन गतेको बैठकले विभागीय सजायको आदेश दिनका लागि उपसमिति गठन गरेको थियो ।

उक्त समितिको अस्पतालका निर्देशक डा‍. चन्द्रमणि अधिकारीलाई बुझाएको आदेशमा भविष्यमा केन्द्रको सेवाका लागि अयोग्य नठहरिने गरी जागिरबाट निष्कासनको सजाय तोकिएको उल्लेख छ । त्यसो त उपसमितिका प्रतिनिधिले आइतबार नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, निमित्त स्वास्थ्य सचिव डा. गुणराज लोहनीलाई सजायको आदेश सम्वन्धी प्रतिवेदनसहित जानकारी गराएको छ ।

यादवले नक्कली रिपोर्ट बनाएर पैसाको बार्गेनिङ गर्दै गरेको भिडियो रिपोर्ट एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट